दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
विभिन्न राजनीतिक दलहरुले निर्वाचनका समयमा दलित समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरिरहेको भन्दै आउँदो स्थानीय निर्वाचनमा दलित समुदायबाट पनि उम्मेदवार बनाउनु पर्ने माग गरिएको छ ।
नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह र सचिव सनत मण्डललाई मंगलबार दलित सरोकार मञ्चका अध्यक्ष युक्तिलाल मरिक, नेपाल राष्ट्रिय मुसहर संघका गंगा सदा, नेपाल राम समाज सप्तरीका केन्द्रिय अध्यक्ष प्रथम लाल राम, नेपाल खत्वे समाज सप्तरीका अध्यक्ष हरी मण्डल, डोम उत्थान समाज सप्तरीका उपाध्यक्ष धर्मदेव मरिक, नेपाल तत्मा समाज सप्तरीका सदस्य कारी दास, दलित उत्थान मञ्चका अध्यक्ष वौवालाल शर्मा खत्वे, मुक्त हरवा चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदा, नेपाल भूमी अधिकार मञ्चका बासुदेव दास, नेपाल राउत मेहतर समाजका सचिव खगेन्द्र मेहतर र पीडित उत्थान यूवा क्लवका सचिव उपेन्द्र मरिकले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
दलित अगुवाहरुले ती माग राख्दै आगामी स्थानीय तहको निर्वाचनमा दलित समुदायको समानुपातिक उम्मेदवारी, चक्रीय प्रणाली र मतदाता नामावली नागरिकता विशेष अभियान सञ्चालन सम्बन्धमा बुक्राइएको ज्ञापनपत्र पत्रमा उल्लेख छ ।
सोही ज्ञापनपत्रमा नेपालको संविधान २०७२ को प्रस्तावना, धारा १८ (समानताको हक), धारा ४० (दलितको हक) र धारा ४२ (सामाजिक न्यायको हक) ले राज्यका सम्पूर्ण अङ्ग, संरचना र राजनीतिक प्रक्रियामा दलित समुदायको जनसंख्याको आधारमा समानुपातिक समावेशी सहभागिताको स्पष्ट संवैधानिक ग्यारेन्टी गरेको स्मरण गराउँदै संवैधानिक र कानुनी प्रावधानका बाबजुद स्थानीय तहको निर्वाचन र सत्ता सञ्चालनमा दलित समुदाय, खासगरी तराई–मधेशका अति–सीमान्तकृत दलितहरूको कार्यकारी नेतृत्वमा पहुँच अत्यन्त निराशाजनक र उथलपुथलविहीन रहेको जनाइएको छ ।
दलगत टिकट वितरणमा विभेद र गेटकिपिङ हुने गरेको भन्दै ज्ञापनपत्रमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मुख्य राजनीतिक दलहरूले उम्मेदवार चयन गर्दा दलितहरुलाई ’जित्न नसक्ने“ वा “क्षमता नभएको“ मिथ्या आष्य सिर्जना गरी उम्मेदवारीको टिकटबाटै वञ्चित गर्ने गरेकाे आरोप लगाइएको छ ।
गत स्थानीय निर्वाचनमा कानुनी रूपमा अनिवार्य गरिएको दलित महिला वडा सदस्य पदमा समेत प्रमुख दलहरूले १२४ वडामा उम्मेदवार नै खडा नगरेको तथ्याङसहित आरोप लगाइएको छ ।
तराई–मधेश तथा जिल्लाका अति विपन्न दलित बस्तीहरु (विशेष गरी डोम, मुसहर, चमार, दुसाध, बादी. गन्धर्व आदि) मा गरिबी, अशिक्षा र चेतना अभावका कारण ठूलो संख्यामा नागरिकता र मतदाता नामावलीबाट वञ्चित रहेको ज्ञापनपत्र मार्फत स्मरण गराइएको छ ।
आगामी निर्वाचनअघि जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र स्थानीय तहसँग समन्वय गरी दलित बस्तीहरूमा टोल–टोसमा घुम्ती शिविर सञ्चालन गरी मतदाता नामावली दर्ता र नागरिकता वितरणको ’विशेष टोली अभियान’ सञ्चालन गर्न राजनीतिक दलहरूका तर्फबाट प्रतिबद्धता र सहजीकरण गर्न माग गरिएको छ ।
दलको आन्तरिक संरचना र उम्मेदवार छनोट समितिमा दलित प्रतिनिधित्वका लागि जिल्ला, पालिका र वडा स्तरका उम्मेदवार सिफारिस तथा छनौट समितिहरुमा दलित समुदायको निर्णायक सहभागिता सुनिश्चितका लागि दलभित्रको गेटकिपिड अन्त्य भई योग्य दलित कार्यकर्ताहरूले टिकट प्राप्त गर्न सहज बनाउन माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै काँग्रेस सभापति साहले दलित समुदायको मागप्रति पार्टी गम्भिर रहेको र ती मागहरु सम्बोधन हुने गरि स्थानीय निर्वाचनको समयमा पार्टीले निर्णय गर्ने प्रतिबद्धता जनाएको पार्टीका सचिव मण्डलले राजविराज दैनिकलाई जानकारी दिए ।
प्रतिक्रिया
० प्रतिक्रिया