दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
राजविराज विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको संख्या घटेको छ । विगतको तुलनामा गत आ.ब.मा २ हजार ८ सय ९३ यात्रुको संख्या घटेको हो ।
हाल राजविराजबाट बुद्ध एयरलायन्सले दैनिक एउटा उडान गर्दै आइरहेको छ । बुद्ध एयरलायन्सले दैनिक दिउँसो १ बजेतिर एक मात्र उडान मार्फत हवाई सेवा प्रदान गर्दै आइरहेको छ ।
गत आ.ब. २०८२÷८३ मा राजविराज विमानस्थलबाट १८ हजार ४ सय ६८ यात्रुले हवाई सेवा गरेका थिए भने आ.ब. २०८१÷८२ मा यस विमानस्थलबाट २१ हजार ३ सय ६१ जना यात्रुले हवाई सेवा प्राप्त गरेका थिए ।
यस्तै उडानको सुरुवाती वर्ष २०८०÷८१ मा ४ हजार ५६ जना यात्रुले हवाई सेवा उपभोग गरेको बुद्ध एयरलायन्सका स्टेशन म्यानेजर अनिल राजवंशीले जानकारी दिएका छन् ।
स्टेशन म्यानेजर राजवंशीले हवाई इन्धनको मुल्यबृद्धिका कारण भाडादर बढाउनु पर्दा यसको प्रत्यक्ष असर यात्रुमा समेत परेको बताए । अघिल्लो आ.ब. २०८१÷८२ को तुलना आ.ब. २०८२÷८३ मा यात्रुको चाप केही घटेको उनले स्वीकारे ।
यता पूर्वघोषित रात्रीकालिन उडान भने अझै संचालनमा आउन सकेको छैन् । यात्रुको चाप बढ्दै गएपछी बुद्ध एयरलायन्सले २०८१ साल चैत २९ गतेदेखी दैनिक दुई उडान गर्ने योजना सार्वजनिक गरेको थियो । यसका लागि २०८१ मंसिर २९ गते नै तत्कालिन संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्रीकालिन उडान पनि सुरु गर्ने भन्दै परिक्षण उडानको शुभारम्भ गरेका थिए ।
उडान परिक्षण सकिएपछी बुद्ध एयरलायनसका व्यवस्थापन पक्षले २०८१ चैत २९ बाट दिनको १२ः२५ र साँझ ६ बजे गरी दैनिक दुई उडान राजविराजबाट काठमाडौंका लागि प्रस्थान गर्ने समय तालिका समेत सार्वजनिक गरेको थियो । तर डेढ वर्ष बित्न लाग्दा पनी साँझको उडान अझै संचालनमा आउन सकेको छैन् ।
स्टेशन म्यानेजर राजवंशीले यात्रुको चाप घटेको र हवाई इन्धनको मुल्यबृद्धि भएको कारणले पनि रात्रीकालिन उडान गर्ने योजना हाललाई स्थगित गरिएको बताए । उनले यात्रुको चाप बढ्दै गएपछी भावी दिनमा उक्त योजना कार्यान्वयनमा आउने प्रष्ट पारे ।
राजविराज विमानस्थलका प्रमुख हिरोन साहले रात्रीकालिन उडानका लागि आवश्यक सबै पूर्वाधार उपलब्ध रहेको बताए । उनले रात्रिकालिन उडान सेवाका लागि आवश्यक सबै उपकरण जडान भइसकेको तथा सेवा प्रदायक विमान कम्पनीले चाहेको बेला उडान गर्न सक्ने दाबी समेत गरे ।
सुरुमा ४९ सिट भएको बुद्ध एयरको विमान यहाँबाट उडान गर्ने गरेकोमा यात्रुको चाप बढ्दै गएपछी अहिले ७२ सिट क्षमता भएको विमानले सेवा प्रदान गरिरहेको छ ।
उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं सप्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अरुण प्रधानले सप्तरी, सिरहा, उदयपुर र सीमावर्ती भारतीय यात्रुलाई काठमाडौं उडानका लागि सहज भएपनि दैनिक दुई उडान सेवा संचालन हुन नसक्दा समस्या भइरहेको सुनाए ।
प्रतिक्रिया
० प्रतिक्रिया