दैनिक समाचारदाता
राजविराज, १२ साउन ।
सप्तरी प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेका विभिन्न लत्ताकपडासहित तीन जना र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पातो र प्रहरी चौकी तरहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले डाक्नेश्वरी नगरपालिका ३ स्थित तरही चोक सडकखण्डमा भारतको लौकहीबाट नेपालतर्फ आउँदै गरेका दुई मोटरसाइकललाई शंकाका आधारमा रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मधेश प्रदेश ०६–००१–प १२७४ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी ३ निवासी २२ वर्षीय अख्तर र सोही मोटरसाइकलको पछाडि सवार १९ वर्षीय अमित कुमार रायले बोकेको रातो बोराभित्र विभिन्न किसिमका लत्ताकपडा फेला परेको हो ।
त्यसैगरी बीआर १४ ई ०४३९ नम्बरको मोटरसाइकल चलाइरहेका चालक २५ वर्षीय मोहम्मद ईजरायलले मोटरसाइकल पछाडि बाँधेका सेतो बोराबाट पनि भन्सार छली गरी ल्याइएका विभिन्न लत्ताकपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
बरामद लत्ताकपडा, दुईवटा मोटरसाइकल तथा पक्राउ परेका तीनै जनासहित ३ लाख ६९ हजार ६ सय बराबरको सामान आवश्यक कारबाहीका लागि सोमबार नै राजविराज भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया