दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
राजविराज उच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरेराम यादवले पछिल्लो सरकार जस्तै वर्तमान सरकार पनि न्यायपालिकालाई गोजीमा राख्ने प्रवृति तर्फ उद्यत भएको बताएका छन् ।
उच्च अदालत राजविराज बेञ्च र सप्तरी जिल्ला अदालतका न्यायाधीशहरुको विदाई समारोहमा बोल्दै अध्यक्ष यादवले उक्त कुरा बताउँदै जुन स्वतन्त्र न्यायपालिकाको अवधारणा विपरित रहेको उल्लेख गरे ।
“आफ्नै प्रकरणमा पछिल्ला सरकारले न्यायपालिकालाई जसरी प्रयोग गरे त्यही सिको गर्दै बर्तमान सत्ताधारी दल राष्ट्रीय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने न्यायपालिकालाई नियन्त्रण गर्न खोजी रहेका छन” उनले भने, “यस्ता प्रवृति विरुद्ध वकिलहरुले नै आवाज उठाउनु पर्छ भन्दै सरकारलाई चेताए ।”
अध्यक्ष यादवले परिवर्तनका आवाज पनि विगतमा वकिलहरुले नै उठाएको स्मरण गर्दै स्वतन्त्र न्यायपालिकाको रक्षा गर्न सम्पूर्ण वकीलहरुलाई आह्वान गरे ।
न्यायधीशहरुको विदाई समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दै उच्च अदालत जनकपुर राजविराज ईजलाशका १ नं. न्यायाधीश सुभाष पौडेलले बेञ्चले यो आर्थिक बर्षमा आफ्नो लक्ष्य भन्दा बढी मुद्दामा फैसला गरेर अदभुत सफलता प्राप्त गरेको जिकिर गरे । उनले त्यो बारको सहयोगको कारण मात्र सफल भएको भनी बकीलहरुको प्रशंसा गरे ।
राजविराज बेञ्चको मूख्य भई काम गर्ने न्यायाधीश पौडेलले लक्ष्य प्राप्ति गर्न अलि छिटो छिटो मुद्दाको सुनवाई भएको जस्ता सामान्य गुनासाहरु आईरहेको सन्दर्भ कोट्याउँदै निकट भबिष्य मै बार सँग यस्ता बिषयमा बेञ्च समिक्षा गर्न तैयार रहेको प्रतिबद्धता जनाए ।
उच्च बारका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो कार्यकाल पूरा गरी विदाई भएका न्यायाधीशहरुमा उच्च अदालतका न्यायाधीशहरु अच्युतम कुमार आचार्य, माधव धिताल र सरला मोक्तान तथा सप्तरी जिल्ला अदालतका न्यायाधीशहरुमा मूख्य न्यायाधिश किशोर घिमिरे, रोमनाथ अधिकारी र महेन्द्र बहादुर थापा क्षेत्रीले आफ्नो अनुभव राखेका थिए ।
उनीहरुले सप्तरीको बिषयमा यहाँ आउँदा सबैले यहाँ काम गर्न कठिन हुने भनी निकै डराएका थिए तर राजविराजलाई आफुहरुले सहज पाएको र यहाँ सबैको साथ सहयोग पाई मुद्दाको चाप बढी हुँदा बढी सिक्ने अवसर पाएको बताए ।
आफ्ना कार्यकाल पूरा गरी सरुवा हुनेमा उच्च अदालतका न्यायाधीश सुशिल कोईराला तथा सप्तरी जिल्ला अदालतका न्यायाधीशहरुमा मोहन बहादुर थापा, दिपक धिताल र बाबुराम भट्टराई छन ।
उच्च अदालत बारका सचिव दानो कुमारी चौधरीले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ अधिवक्ताहरु कृष्णानन्द देव, डा. देव नारायण यादव, बौद्धकृष्ण भगत, उच्च वारका पूर्व अध्यक्षत्रय हेमनारायण चौधरी, श्याम नारायण साह र रामानन्द साह तथा अधिवक्ताहरु बलराम सिंह, सतीश कुमार दत्त, समिम अख्तर अली लगायतकाले विदाई मन्तव्य राखेका थिए ।
अदालतमा दुई बर्षमा नियमित रुपमा सरुवा हुने गरेको र यसै क्रममा उच्च अदालतबाट चार जना र सप्तरी जिल्ला अदालतबाट ६ जना न्यायाधीशहरुको सरुवा भएको उच्च अदालतका सहरजिष्ट्रार जानकी रमण यादवले जानकारी दिए ।
प्रतिक्रिया
० प्रतिक्रिया