दैनिक समाचारदाता
राजविराज, २१ भदौ ।
आमसञ्चार प्राधिकरण तथा मिडिया काउन्सिल मधेश प्रदेशको संयुक्त प्रयासमा भावी योजनाहरुबारे सुझाव संकलन थालिएको छ ।
आइतबार सप्तरी सदरमुकाम राजविराजमा सञ्चारकर्मी र सञ्चार गृहका सञ्चालकसँग सुझाव संकलन गरिएको हो ।
प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा र मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा तथा प्राधिकरणका सदस्य ज्योति झा लगायत सम्मिलित टोलीले भावी योजना बनाउन बनाउन मधेश प्रदेशका ८ वटै जिल्लामा पुगेर सञ्चारकर्मी र सञ्चारगृहका सञ्चालकहरुसंग छलफल र सुझाव संकलन गर्न थालेको जनाइएको छ ।
प्राधिकरणका अध्यक्ष खडाएस््गाले प्रदेश सरकारबाट प्राप्त बजेटबाट चाहे जति गर्न नसकिए पनि उपलब्ध बजेटबाटै प्रदेशका ८ वटै जिल्लाका आवश्यकताका आधारमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याईने योजना रहेको बताए ।
उनले अर्थ मन्त्रालयबाट बजेट कटौती हुँदा सवभन्दा बढी लोक कल्याणकारी विज्ञापन वापतको भुक्तानीमा असर पर्ने जानकारी दिँदै उक्त शिर्षकमा कम्तिमा एक करोड २० लाख बजेट छुट्टयाउन प्रस्ताव गरेकोमा ७० लाख मात्र छुट्टयाउँदा समस्या भएको सुनाए । उनले यसतर्फ सबै सञ्चारकर्मीले पनि आ–आफ्नो स्तरबाट पहल गरिनु जरुरी रहेको उल्लेख गरे ।
मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष बन्दना झाले प्रदेश सरकारले सञ्चारक्षेत्रलाई बजेटको मामिलामा उपेक्षा गरेको गुनासो पोखिन् । उनले पहिले पनि थोरै बजेट रहेको जिकिर गर्दै यस पटक त झनै पचास प्रतिशत नै कटौती गर्ने कुरा आएकोले निरन्तर मन्त्रालयमा पुगेर थप बजेटका लागि दवाव बनाई रहेको बताइन् ।
मधेश प्रदेशमा सञ्चारक्षेत्रको विकासका लागि सुझाव संकलन गर्न थालिएको कार्यक्रममा सञ्चारकर्मी तथा सञ्चारगृहका सञ्चालकहरुले भोग्नु परिरहेको समस्याबारे जानकारी गराउँदै भावी कार्ययोजनामा प्राथमिकताका साथ समेटिनु पर्ने विषय बारे विभिन्न सुझाव दिएका थिए ।
प्रतिक्रिया
० प्रतिक्रिया