दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
राजविराजमा जारि यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न खेलमा सप्तरी बिजयी भएको छ । सप्तरीले धनुषालाई १५ रनले पराजित गरेको हो ।
स्थानीय पविमावि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सप्तरीले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ९१ रनको योगफल खडा गरेको थियो । जसमा सन्तु मण्डलले सर्वाधिक ४७ रन बनाए । त्यस्तै रोहन विक ३७, वसन्त यादव २८, रौनक सिंह २० र निवेश मण्डलले १० रनको योगदान दिए ।
बलिङतर्फ धनुषाका आयुष यादव, अस्मित मण्डल र रोहन यादवले २÷२ विकेट लिए भने मनोज मण्डलले १ विकेट हात पारे ।
एक सय ९२ रनको लक्ष्य पछ्याएको धनुषाले ३७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ७६ रन बनाउन सक्यो । जसमा अंकित यादव ३७, चन्दन यादव २६, रूपेश यादव १७, मनोज मण्डल १९ र आशिफ राईनले १६ रन बनाएका थिए ।
सप्तरीका बलर शिव दासले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । त्यस्तै वसन्त यादवले ३ विकेट तथा अभिमन्यु सरदार, नितेश यादव र सन्तु मण्डलले समान १÷१ विकेट लिन सफल भए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सप्तरीका शिव दास प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार महोत्तरी र सिरहाबीच प्रतिस्पर्धा हुने सप्तरी क्रिकेट संघका सदस्य डम्बर नारायण दासले जानकारी दिए ।
प्रतिक्रिया
० प्रतिक्रिया