दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
संघीय सरकारका स्वास्थ्य मन्त्री र प्रतिधिनिसभा सदस्य सम्मिलित टोलीले सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालदेखि प्रस्तावित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्मको अवस्था बारे जानकारी लिएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, प्रतिनिधिसभा सदस्यद्वय डा. अंकिता ठाकुर र पुष्पा चौधरीसहितको टोलीले आइतबार हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पताल, राजविराज नगरपालिकास्थित गजेन्द्र नारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण स्थलको स्थलगत निरिक्षण गर्दै अवस्था बारे जानकारी लिएका हुन् ।
सो क्रममा गजेन्द्र नारायण सिंह अस्पतालको सभाकक्षमा सरोकारवालासँग सम्वाद गर्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको समस्या बुझ्न र समस्याको पहिचान गरी समाधान खोज्न स्थलगत अवलोकन गरिएको जानकारी दिइन् ।
यस्तै ३१ करोडको लगानीमा निर्माण गरिएको गजेन्द्र नारायण सिंह अस्पतालको नव निर्मित भवनबाट सेवा सुचारु गरेपछि अस्पतालका धेरै समस्या समाधान हुदै जाने भन्दै उनले भदौं भित्र उक्त भवन हस्तान्तरण गर्न सरोकारवाला कार्यालय र निर्माण कम्पनीलाई निर्देशन समेत दिइन् ।
मन्त्री मेहताले अस्पतालमा आईसीयु, भेन्टिलेटर लगायतका अन्य अत्याधुनिक उपकरण जडानका लागि ठाउँको अभाव भईरहेको कारण भदौं भित्रै नयाँ भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिनु पर्ने भनिन् ।
हाल ५० शैय्याको मात्र सेवा उपलब्ध भई रहेको अस्पतालमा सेवा विस्तार गरी एक सय शैय्यामा पु¥याउने तयारी भई रहेको उनले जानकारी दिदै राजविराजमै रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा आए पछि अस्पतालको धेरै समस्या समाधान हुने र स्वतः स्तरोन्नित हुने उनको भनाई थियो ।
सो अवसरमा अस्पतालका तर्फबाट अधिकृत सूर्यकान्त झाले हाल ५० शैय्याको मात्र स्वीकृति प्राप्त गरी ठुलो संख्यामा विरामीलाई सेवा प्रदान गर्नु पर्ने बाध्यता रहेकोले थप शैय्या विस्तार, नर्सिङ कलेजका लागि नयाँ भवन तयार भए पनि जनशक्ति र वजेट अभावका कारण संचालन हुन नसकेकोले आवश्यक व्यवस्था गर्न, लामो समयदेखि अस्पताल विकास समिति गठन हुन नसकेकाले सो समिति गठन तथा प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य संचालन गर्न लगायतका चार बुँदे अनुरोध पत्र मन्त्री मेहतालाई बुझाएका थिए ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिरेन्द्र मण्डलको अध्यक्षतामा आयोजित संवाद कार्यक्रममा स्थानीयका तर्फबाट दिपेन्द्र चौधरीले अस्पताल सुधारका १५ बुँदे ज्ञापनपत्र मन्त्री मेहताका बुझाएका थिए । सो क्रममा उनले नगर स्थापना कालदेखि नै बसोबास गर्दै आएका पाँच हजार भन्दा बढी परिवारले अझैं लालपूर्जा पाउन नसकेको भन्दै पहलका लागि मन्त्री मेहताको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा मन्त्री मेहताले उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी दिदै अब ऐन पारित गरी प्रतिष्ठानको निर्माण कार्य पनि छिट्टै अघि बढ्ने बताईन् ।
प्रतिक्रिया
० प्रतिक्रिया