दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
सप्तरीमा पूर्वानुमानमा आधारित कार्यलाई प्रभावकारी बनाउन प्रभावित व्यक्तिप्रति जवाफदेहिता र मानवीय कार्यमा अपाङ्गता समावेशीकरण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।
युनिसेफको सहयोगमा तिलाठी कोइलाडी, छिन्नमस्ता, हनुमाननगर कंकालिनी, कञ्चनरुप र सप्तकोशी नगरपालिकाको आयोजनामा आइतबार राजविराजमा सो तालिम सम्पन्न भएको हो ।
विपद् आउनुअघि नै पूर्वानुमान र प्रारम्भिक चेतावनीका आधारमा आवश्यक सहायता तथा स्रोत परिचालन गरी मानवीय क्षति र विपद्को प्रभाव कम गर्ने उद्देश्यले पूर्वानुमानमा आधारित कार्य सञ्चालन गर्न तालिमको आयोजना गरिएको तिलाठी कोईलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
बाढी लगायतका विपद्को सम्भावना देखिएपछि जोखिममा रहेका समुदायलाई आवश्यक सहायता उपलब्ध गराउने, सुरक्षित स्थानमा जान सहयोग गर्ने तथा जीविकोपार्जन र सम्पत्ति जोगाउन सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे ।
युनिसेफका कार्यक्रम अधिकृत अशोककुमार झाले पूर्वानुमानमा आधारित कार्यलाई समुदायमैत्री र प्रभावकारी बनाउन स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम संचालन गरिएको बताए ।
उनका अनुसार यस अघि हनुमाननगर कंकालिनी नगरपालिकाका २४ जना कार्यपालिका सदस्य तथा कर्मचारीलाई यस्तै तालिम दिइसकिएको छ र बाँकी तीन पालिकाका २४÷२४ जनासहित पाँच पालिकाका गरी कुल १२० जनालाई तालिम प्रदान गरिने छ ।
तालिममा पूर्वानुमानमा आधारित कार्यसँगै प्रभावित व्यक्तिप्रति जवाफदेहिता, समुदायलाई समयमै र सहज रुपमा सूचना प्रवाह, सुझाव तथा गुनासो संयन्त्र स्थापना तथा व्यवस्थापन र समुदायबाट प्राप्त सुझावलाई पूर्वानुमानका आधार, प्रारम्भिक कार्य तथा प्रतिकार्य योजनामा समावेश गर्ने विषयमा प्रशिक्षण दिइएको कार्यक्रम अधिकृत झाले जानकारी दिए ।
त्यसैगरी विपद् व्यवस्थापनको योजना तथा निर्णय प्रक्रियामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयलाई पनि तालिमले प्राथमिकता दिएको छ ।
स्थानीय नीति, योजना तथा कार्यविधिमा प्रभावित व्यक्तिप्रति जवाफदेहिताका सिद्धान्त समावेश गरी पूर्वानुमानमा आधारित कार्यलाई संस्थागत बनाउने विषयमा समेत तालिममा छलफल हुने बताइएको छ ।
तालिममा युनिसेफका कामदेव खनाल, अशोककुमार झा, विष्णुमाया भट्टराई, मेघराज मगर तथा सबल नेपालका मनिष महर्जन र राजेश झाले सहजीकरण गरेका थिए ।
पूर्वानुमानमा आधारित कार्यले विपद्पछि राहत र उद्धारमा मात्र निर्भर हुने परम्परागत प्रणाली भन्दा अघि बढेर जोखिमको पूर्वानुमानकै आधारमा आवश्यक तयारी र सहायता परिचालन गर्ने भएकाले स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको युनिसेफले जनाएको छ ।
तालिममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारी गरी २४ जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
० प्रतिक्रिया