दैनिक समाचारदाता
राजविराज, २१ असोज ।
गत भदौ १० गते रसुवास्थित भोटेकोशीको बाढीमा परी वेपत्ता भएका राजविराज नगरपालिका १६ वोरियास्थित सदा बस्तीका तीन परिवारले आफन्त जिबित्तै फर्केर आउने आश अझै मारेका छैनन् ।
घट्नाको बुधबार ४१औं दिन पुगिसक्दा पनि उनीहरु अन्त्येष्टिका कुनै रितिरिवाज गरेका छैनन् । उक्त बस्तीका ३२ बर्षीय सुरेन्द्र सदा, ३० बर्षीय शिवकुमार सदा र ३४ बर्षीय बेचन सदा गत भदौ १० को बाढीमा परी बेपत्ता छन् ।
परिवारका एक÷एकजना व्यक्ति हालसम्म बेपत्ता रहेकोमा उनीहरु फर्केर आउने प्रतिक्षामा रहेकाले अन्त्येष्टि नगरिएको ती परिवारका आफन्तजनले बताएका छन् ।
बाढीमा श्रीमान् सुरेन्द्र बेपत्ता भएपनि उनकी धर्मपत्नी दरोपती अझै १०÷१२ बर्ष बाटो हेरेर मात्र अन्त्येष्टिबारे सोच्ने बताउँछिन् ।
दुईसाता अघि बजारबाट बच्चाका लागि औषधि किनेर घर फर्किने क्रममा दरोपती चढेको सिटीरिक्सा दुर्घट्नामा पर्दा उनको बाँयाँ खुट्टामा गहिरो चोट लागेको छ ।
दरोपतिको छिमिेकी गुडिया सदाको श्रीमान् शिवकुमार सदा पनि सोही बाढीमा परी बेपत्ता भएकोमा अहिले सम्म अवस्था पत्ता लाग्न सकेको छैन् । उनले पनि श्रीमान् फर्केर आउने आश मारिसकेकी छैनन् ।
त्यस्तै अर्का छिमेकी सुभाष र निभा दाजु बहिनीको आमा फुलिया देवी सदाको क्यान्सर रोगबाट एक बर्ष अघि मृत्यु भएकोमा अहिले रसुवाकै बाढीमा बुवा बेचन सदा समेत बेपत्ता हुँदा झनै पीडा थपिएको छ ।
बुवा फर्केर आउनु हुने प्रतिक्षामा रहेका ती नवालक दाजु बहिनीले एकै स्वरमा भने–बेपत्ता हुनु भएका हाम्रो बुवा एक न एक दिन अवश्य फर्केर आउनुहुन्छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रसुवाको बाढीमा परेर सप्तरीबाट मात्रै ५३ जना बेपत्ता भएका थिए ।
जसमध्ये एक जनाको मृत्यु भएको, ११ जनाको सँकुशल उद्धार गरिएको तथा ४१ जना अझै सम्पर्क बिहीन रहेका छन् । प्रहरी तथ्याङ्क अनुसार रसुवाको बाढीमा मधेश प्रदेशमा सबभन्दा बढी सप्तरीमा ४१ जना अहिले पनि सम्पर्कबिहीन छन् ।
त्यसपछि क्रमशः पर्सा, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सिरहाका मानिस सम्पर्कबिहीनको सूचीमा देखिएका छन् । यता बाढीमा परेर ज्यान गुमाएका तथा लामो समयदेखि बेपत्ता भएका मध्ये अधिकांशका परिवारजनले आ–आफ्नो परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन् ।
प्रतिक्रिया
० प्रतिक्रिया