दैनिक समाचारदाता
राजविराज, २ असोज ।
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध नेपाल पत्रकार महासंघले असोज ५ गतेदेखी देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।
महासचिव रामप्रसाद दाहालद्वारा शुक्रबार जारि विज्ञप्तिमा सूचना तथा सञ्चार मन्त्रीसमक्ष भदौ २५ गते राखिएको माग पूरा नभएको र समस्या समाधान नभएसम्म विज्ञापनबापतको बिल नबुझ्न विज्ञापन बोर्डलाई भदौ २१ गते गरिएको पत्राचारलाई समेत वेवास्ता गरिएको सम्बन्धमा महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले तीन दिनभित्र माग पूरा नभए असोज ५ गते सोमबारबाट देशव्यापी आन्दोलनमा उत्रने निर्णय गरेको उल्लेख छ ।
सूचना तथा सञ्चार मन्त्रालयले छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३ मार्फत पत्रपत्रिकाले प्राप्त गरिरहेको विज्ञापनबापतको रकममा भारी कटौती गरेकोप्रति नेपाल पत्रकार महासंघले पूर्ण असहमति प्रकट गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनमा बेजुरु नदेखाएको र प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापनको रकममा हेरफेर तथा वृद्धिका सम्बन्धमा गरेको सिफारिससमेतका आधारमा समस्या समाधान गर्न शुक्रबार नै महासंघले पुनः मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाइएको विज्ञप्तिमा जिकिर गरिएको छ ।
“महासंघ वार्ता र संवादमार्फत समस्या समाधान हुने विश्वास प्रकट गर्दछ । अन्यथा बैठकको निर्णय बमोजिम पहिलो चरणमा विभिन्न कार्यक्रमसहित हुने देशव्यापी आन्दोलनमा सहभागी हुन महासंघ मातहतका समितिहरु र सरोकारवाला सबैमा आह्वान गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
० प्रतिक्रिया