दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले सहकारी संस्थालाई बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी महिला सशक्तीकरण र स्वरोजगार सिर्जनाको माध्यम बनाउनुपर्ने बताएका छन् ।
सो गाउँपालिका १ खुरहुरियास्थित गरुकुल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौँ वार्षिक साधारणसभालाई बिहीबार सम्बोधन गर्दै उनला यस्तो बताएका हुन् ।
प्रमुख अतिथि यादवले सहकारीमा बचत गर्नेदेखि ऋण लिने कार्यसम्म महिलाको अग्रणी भूमिका रहेको उल्लेख गर्दै सहकारीको माध्यमबाट महिलालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।
सहकारीले ऋण लगानी र बचत सङ्कलन मात्रै गरेर आफ्नो उद्देश्य पुरा नहुने भन्दै उनले महिला तथा युवालाई सहकारीमा आबद्ध गराई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाका प्रमुख सञ्जय कुमार महतोले सहकारी संस्थालाई व्यवस्थित र मर्यादित बनाउन नियामक निकाय तथा स्थानीय तहबाट नियमित अनुगमन आवश्यक रहेको बताए ।
संस्थाका अध्यक्ष जय नारायण यादवको अध्यक्षतामा सम्पन्न साधारणसभामा उनले गत तथा चालु आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया
० प्रतिक्रिया