दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित ‘कोइलाडी स्कुल पोखरी’ कुनै समय फोहोर र दुर्गन्धले भरिएको थियो । पोखरीमा फालिएका सिसाका बोतल तथा अन्य फोहोरका कारण पानी पशुचौपायाले समेत पिउन नसक्ने अवस्थामा पुगेको थियो । पानी सञ्चय नहुने समस्याले पोखरीको उपयोगिता पनि हराइसकेका थिए । तर, अहिले त्यही पोखरी स्थानीय समुदायका लागि उपयोगी जलस्रोत मात्र नभई जीवनरेखा जस्तै बनेको छ ।
कोशी कमला सामुदायिक विपद् व्यवस्थापन समिति (सीडीएमसी) का अध्यक्ष ४२ वर्षीय मो. फिरोजका अनुसार सामुदायिक पहल र परियोजनाको सहयोगले पोखरीको मुहार फेरिएको हो ।
कोका–कोला फाउन्डेसनको आर्थिक सहयोग, प्रस्पर ग्लोबलसँगको साझेदारी तथा जनचेतना अभियान नेपालको आयोजनामा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत पोखरी सरसफाइ तथा संरक्षणको काम गरिएको छ ।
“पहिले पोखरीमा सिसाका बोतल र फोहोर भरिएका थिए । पानी टिक्दैनथ्यो र पशुचौपायाले समेत खान नसक्ने अवस्था थियो,” फिरोज सम्झन्छन्, “अहिले पोखरीमा पर्याप्त पानी सञ्चय भएको छ । विद्यार्थीले हातखुट्टा धुने, स्थानीयले कपडा धुने र नुहाउने गरेका छन् ।”
उनका अनुसार पोखरीमा अहिले करिब ५० बिघा जग्गामा सिँचाइ गर्न पुग्ने पानी सञ्चय भएको छ । पोखरीको चारैतिर वृक्षारोपणसमेत गरिएलकोले वातावरणीय सौन्दर्य बढाउनुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टिफिन खाने र केही समय विश्राम गर्ने अनुकूल वातावरण पनि बनाएको हो ।
फिरोजका लागि यो परिवर्तन पोखरी सफा हुनुमा मात्र सीमित छैन । यसले समुदायमा पानीको महत्व, सरसफाइ र सामूहिक प्रयासप्रतिको चेतना पनि बढाएको छ ।
“पहिले बेवास्तामा परेको पोखरी अहिले समुदायका लागि सम्पत्ति बनेको छ,” उनी भन्छन् । यो पहलले स्थानीय जलस्रोतको संरक्षण, पानीको उपलब्धता र सामुदायिक विपद् उत्थानशीलता अभिवृद्धिमा स्थानीय सहभागिताको महत्वलाई उजागर गरेको फिरोजको भनाई छ ।
प्रतिक्रिया
० प्रतिक्रिया