दैनिक समाचारदाता
राजविराज, ३२ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ६ स्थित कठौनामा भारतीय नम्बरको विआर ३२ बिडी ९७६४ नम्बरको मोटरसाइकलले बालक सवार साईकललाई बुधबार साँझ ठक्कर दिदा बालकको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट सप्तरीको शम्भुनाथ नगरपालिका ५ का मो. सादनको छोरा बर्ष १४ को मो.साविकको मृत्यु भएको हो । मोटरसाइकलमा बालकलाई लिएर भाग्दै गरेका भारतको मधुवनी खतौनी पिपराहीका बर्ष २८ को मो. सादर आलमलाई स्थानीयले पक्राउ गरेको छ भने मोटरसाइकलमा सवार एकजना भने फरार भएका छन् ।
दुर्घटना भएपछि आलमले सोही मोटरसाइकलमा उठाएर लगेको बालकलाई सप्तरीको खडक नगरपालिका १ स्थित सिस्वाबेल्हीमा फेला पारी स्थानीयले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको बालकको आफन्तले बताएका छन् ।
पूर्वपश्चिम राजमार्गको खडक नगरपालिका ५ खरचुहीया चौकदेखी दक्षिण भित्री सडक हुँदै भारततर्फ जाँदै गरेको मोटरसाइकलमा राखेको मृतक बालकलाई फ्याकेर भाग्न खोजेको आलममाथि स्थानीयले आरोप लगाएका छन् ।
पक्राउ परेका आलम र मोटरसाइकल इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखी कारबाही अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी हेमराज घिमिरेले बताए ।
प्रतिक्रिया
० प्रतिक्रिया