दैनिक समाचारदाता
राजविराज, २५ असार ।
प्रतिनिधि सभा सदस्य खगेन्द्र कर्णले सप्तरीमा जंगली हात्तीको बथानले पु¥याएको ठूलो क्षतिको विषय प्रतिनिधि सभामा उठाएका छन् ।
शून्य समयमा बोल्दै सांसद कर्णले सोमबार राति करिब १० बजेदेखि जिल्लाको अग्नीसाइर कृष्णसवरन गाउँपालिका ६ महुली मोहनपुरमा प्रवेश गरेका दर्जनौँ जंगली हात्तीको हुलले बिहान करिब ३ बजेसम्म लगातार पाँच घण्टा आतंक मच्चाएको जानकारी दिए ।
उनका अनुसार हात्तीको बथानले कृषकहरूले भित्र्याउने तयारीमा रहेको मकैबाली कुल्चिएर नष्ट गर्नुका साथै रोपाइँका लागि तयार पारिएको धानको बीउ (ब्याड) समेत पूर्ण रूपमा सखाप पारेको छ । यसबाट स्थानीय किसानको वर्षभरिको मेहनतमा ठूलो क्षति पुगेको उनले बताए ।
सांसद कर्णले किसानहरू जंगली हात्तीको आतंकबाट निकै पीडित बनेको उल्लेख गर्दै ठूलो संख्यामा गाउँभित्रै हात्ती प्रवेश गरेपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य भएको बताए । वर्षभरि खाने अन्नबाली थन्क्याउने बेला जंगली जनावरले नष्ट गरिदिएपछि किसानहरू गहिरो चिन्तामा परेको उनको भनाइ थियो ।
उनले यस क्षेत्रका किसानहरूले विगत ३५ वर्षदेखि निरन्तर जंगली जनावरको आतंक सहँदै आएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रभावकारी र दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
सांसद कर्णले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै जंगली हात्ती नियन्त्रण, प्रभावित किसानको संरक्षण तथा क्षतिपूर्तिको व्यवस्था गर्न र दीर्घकालीन समाधानका लागि आवश्यक योजना तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन ।
प्रतिक्रिया
० प्रतिक्रिया