दैनिक समाचारदाता
राजविराज, २ असोज ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय तत्काल पुनरावलोकन लगायत पाँच बुदे माग राख्दै शुक्रबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
स्ववियु सभापति रञ्जित कुमार यादवको नेतृत्वमा उक्त तालाबन्दी गरिएको हो । परीक्षा केन्द्र परिवर्तन गर्नुको स्पष्ट र आधिकारिक कारण सार्वजनिक, विद्यार्थीलाई सहज, सुरक्षित र पहुँचयोग्य स्थानमा परीक्षा सञ्चालनको व्यवस्था, परीक्षा सम्बन्धी सम्पूर्ण सूचना समयमै आधिकारिक रूपमा विद्यार्थीसमक्ष सार्वजनिक तथा विद्यार्थीको शैक्षिक हितसँग सम्बन्धित निर्णय गर्दा स्ववियु तथा विद्यार्थी प्रतिनिधिसँग आवश्यक समन्वय गर्न माग गरिएको छ ।
उपरोक्त विषयमा तत्काल ठोस पहल गरी विद्यार्थीको समस्या समाधान नगरिएमा स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूको शैक्षिक अधिकारको संरक्षणका लागि चरणबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने सभापति यादवद्वारा जारि ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
सम्बन्धित निकायलाई समस्या समाधानका लागि तत्काल संवाद र समन्वयको वातावरण निर्माण गर्न आग्रह गर्दै उक्त पत्रमा विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षाजस्तो संवेदनशील विषयमा पारदर्शिता, जवाफदेहिता र विद्यार्थीमैत्री निर्णय प्रक्रिया अनिवार्य रहेको जनाइएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया