दैनिक समाचारदता
राजविराज, २६ भदौ ।
भर्ना भएकै अवस्थामा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालबाट बाहिरिएर एक महिलाले अस्पतालको प्रवेशद्वार नजिकै बच्चा जन्माएको बिषयमा अस्पताल प्रशासनले अस्पतालका ड्युटी अफिसर, स्वास्थ्यकर्मी तथा कर्मचारीगरि ६ जनालाई शुक्रबार कामकाजबाट हटाएको छ ।
प्रारम्भिक चरणमा घट्नाका दिन अस्पातलको प्रसुती वार्डमा डियुटीमा रहेका ४ स्वास्थ्यकर्मी, एक जना चौकीदार र एक जना सरसफाईकर्मी गरी ६ जनालाई तत्काल कामकाजबाट हटाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले जनाएका छन् ।
छानवीन समितिको अन्तिम प्रतिवेदन अनुसार उनीहरुबारे थप निर्णय गरिने उनले जनाउदै छानवीन समितिको अन्तिम प्रतिवेदन प्राप्त नभई अर्को व्यवस्था नभइनजेलसम्म उनीहरुलाई कामकाजबाट हटाइएको बताए ।
यता उक्त घटनाको विषयमा सत्यतथ्य छानवीन गर्न गठित तीन वटा छुट्टाछुट्टै समितिले काम सुरु गरेको छ ।
स्थलगत छानवीनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार सुप्रभात श्रेष्ठको नृेतृत्वमा गठित छानवीन समिति, जिल्ला प्रशासन कार्यालयद्वारा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश कुमार यादवको नेतृत्वमा गठित छानवीन समिति तथा मधेश प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य किरण कुमारी साह नेतृत्वमा गठित छानवीन समितिले शुक्रबार देखि काम सुरु गरेको छ ।
समितिले आ–आफ्नो तरिकाले घट्नाबारे सत्यतथ्य बुझेर आ–आफ्नो निकायमा ७ दिन भित्र प्रतिवेदन बुझाउने बताइएको छ ।
सो अस्पतालमा तीन दिन अघि सुत्केरीका लागी आएकी राजविराज नगरपालिका १४ परसाही टोलकी २९ बर्षीया बबिता पासमानले रकम अभावमा सेवा पाउन समस्या देखेपछि बाहिर निस्केकी थिईन् । अस्पताल प्रवेशद्वार नजिकै पुगेका बेला प्रसव पीडाले च्यापेपछि सडक पेटीमै उनले बच्चा जन्माएकी थिईन् ।
यसअघि तीन छोरीलाई वर्थिङ्ग सेन्टर र अस्पतालमा जन्म दिएकी बबिताले चोथौ सन्तान (छोरा) लाई भने रकम अभावमा सडकमै जन्माउन बाध्य भएकी थिईन् ।
स्वास्थ्यकर्मीले पुर्जामा लेखि दिएको तीन हजार दुई सय रुपियाँको जाँच गराउन पैसा नभएपछि जोहो गर्न निस्केको बेला उनी सडक पेटीमै बच्चा जन्माएकी थिईन् ।
उक्त दृश्य सामाजिक सञ्जाल तथा विभिनन सञ्चार माध्यमबाट भाइरल बनेको थियो । घट्नालाई लिएर सरकार र अस्पताल प्रशासनको चर्को आलोचना हुन थालेपछि संघिय, प्रदेश र स्थानिय स्तरबाट गरी तीन वटा छानवीन समिति गठन भई छानवीन सुरु भएको छ ।
छानवीन समितिले पीडित महिला र उनका आफन्त, सो दिन डियुटीमा रहेका स्वास्थ्यकर्मी, चौकीदार, सफाईकर्मी र निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. जितेन्द्र कँडेलसँग सोधपुछ गरेको अस्पतालका एक अधिकारीले बताए । टोलीले घट्नाको प्रकृती, बबिताको अवस्था, स्वास्थ्यकर्मीको व्यवहार तथा अन्य कुरालाई जोडेर समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया