दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार मेकानिकल फोरम्यान पदमा कार्यरत सञ्जय साहको उद्धार गरिएको छ ।
उनीसंगै काठमाडौं बालकुमारीका ४० बर्षीय कबीर महर्जनको पनि जिवितै उद्धार गरिएको छ ।
उद्धार लगत्तै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएका साहको अवस्था सामान्य र स्थिर रहेको छ ।
यता उनको घर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ साह टोलमा खुशियाली छाएको छ । उनका बुबा रामफल साह र आमा कपुर देवी साहसँग ३२ बर्षीय छोरा सञ्जय साह एक्कासी १० दिनपछि जिवितै उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजनले खुशी व्यक्त गरेका छन् ।
रोजगारीको शिलशिलामा सञ्जय तीन बर्ष अघि रसुवा पुगेका थिए । उनी रसुवास्थित त्रिशुली–३ ए जलविद्युत आयोजनामा मेकानिकल फोरम्यान पदमा कार्यरत छन ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका क्रममा उनी कार्यस्थल सुरुङ्ग भित्र फँसेका थिए । शुक्रबार विहान नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विज्ञहरुको संयुक्त टोलीले सञ्जयको जिवितै उद्धार गरेको थियो ।
विगत १० दिनदेखि खोजी गर्दा पनि नभेटिए पछि अप्रिय घट्ना भएको हुन सक्ने अनुमान लगाइएको आमा कपुरले सुनाईन् ।
सञ्जयका भाई संजीवले भाद्र १० गते विहान ७ ः४५ बजेतिर दाजुसँग अन्तिम पटक मोवाईलमा कुरा भएको सुनाए । “सुरुङ्गभित्र छिर्न लागेका बेला त्यहाँका केही दृश्यहरु हामीलाई देखाएको १०÷१५ सेकेण्ड नबित्दै स्वीच अफ भयो” उनले भने ।
सोही दिन १० बजेतिर भोटेकोशी नदीको भिषण बाढीले रसुवा र आसपास क्षेत्रमा ठूलो जनधनको क्षति भएको खवर आएपछि घर परिवारमा खैलाबैला मचेको उनले सुनाए ।
उनले दाजु सञ्जय धार्मिक प्रवृतीको मान्छे भएको र सो दिन सुरुङ्गमा फँसे देखि लगातार १० दिन सम्म श्रीमद् भागवत गीता पाठ बाचन गर्ने गरेको शुक्रबार आफूलाई अस्पतालबाट भएको फोन सम्पर्कमा सुनाएको बताए ।
सानी आमा पुनमले शुक्रबार बिहान १० बजे सामाजिक सञ्जाल मार्फत सञ्जयको सँकुशल उद्धार गरिएको खवर आएपछि अहिले आफन्तजन तथा इष्टमित्रबाट बधाईको ओइरो लाग्न थालेको सुनाईन ।
प्रतिक्रिया
० प्रतिक्रिया