दैनिक समाचारदाता
राजविराज, २५ भदौ ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नं. १४ परसाहीटोल की २९ बर्षीया बबिता पासवानले राजविराजस्थित गजेन्द्रनारायण सिंह अपस्तालको प्रवेशद्वार नजिकै भदौं २३ गते बिहान ४ बजेतिर बच्चालाई जन्म दिएकी छिन् ।
सुत्केरी गराउन जाँदा त्यसवापत लाग्ने विभिन्न जाँच शुल्क तिर्न नसक्दा अस्पतालबाट हिडेकी गर्भवती महिला अस्पतालको प्रवेशद्वारको किनारमा बच्चालाई जन्म दिएकी हुन् ।
उनका श्रीमान् हरेराम पासवानका अनुसार प्रसव पीडाले च्यापेपछी भदौ २३ गते मंगलवार राती २ बजेतिर ववितालाई गजेन्द्रनारायण सिह अस्पताल लगिएको थियो । ड्युटीमा रहेका स्वाथ्यकर्मीले आफुलाई गाइने वार्डको २४ नम्बर बेडमा भर्ना गरेको बताए ।
बबिताका श्रीमान् हरेरामले स्वास्थ्यकर्मीले आफुलाई पृुर्जा थमाउदै केही जाँचहरु गराएर ल्याउनु भने पछी वार्डबाट निस्केर जाँच परिक्षण गर्ने ठाउँमा पुग्दा एउटै परिक्षणको ३ हजार २ सय शुल्क लाग्ने बताएपछि आफुहरु अलमलमा परेको सुनाए ।
मजदुरी पेशा गर्दै आएका हरेरामले गरिबीका कारण औषधी तथा परिक्षण गर्ने पैसा नहुँदा अस्पतालको प्रवेशद्वार नजिकै बसेर छलफल गर्ने क्रममा एक्कासी श्रीमती बवितालाई पुनःप्रसव पीडाले च्यापेको हरेरामले सुनाए ।
गाउँ कै एक छिमेकी महिलाको सहयोगमा अस्पतालको प्रवेशद्वारा नजिकैको सडक किनारमा श्रीमतीले बच्चा जन्माएको घट्ना नजिकै रहेको एक औषधी पसलको सिसी टिभी क्यामेरामा कैद भएपछी विहीवार विहानै देखी समाजिक सञ्जाल मार्फत सार्वजनिक भएको थियो ।
बविताले यसरी जन्माएको नवजात शिशु छोरा रहेको बुबा हरेरामले बताए । बविताले स्वास्थ्यकर्मीले पूर्जामा लेखेको परिक्षण गराउने पैैसा नहुदा श्रीमानसँग भोली कुनै ब्यवस्था गरेर आउँला भनी सल्लाह गरी रहेकै बेला अचानक प्रसव पीडाले च्यापेको बताईन ।
अस्पताल प्रवेशद्वार मै बविताले बच्चा जन्माएको खबर पाएपछी अस्पतालमा खैलाबैला मच्चिएको थियो । तत्कालै अस्पतालका स्वास्थ्यकर्मीले उनलाई उठाएर भर्ना गरेको थियो । आमा र बच्चा दुबैको उपचार गरिएपनि बुधवार विहानै बविता र उनका श्रीमानले बच्चालाई लिएर हिडेको अस्पताल प्रशासनले जनाएको छ ।
यद्यपी विहीवार एम्बुलेन्स लिएर उनको घर पुगेको स्वास्थ्यकर्मीको टोलीले वविता र नवजात शिशु दुबैलाई ल्याई पुनः गाइने वार्डको २२ नम्बर वेडमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन ।
घट्ना बाहिरीएपछि अस्पताल प्रशासनको लापरवाही भएको भन्दै चर्काे आलोचना भइरहेको छ । निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. जीतेन्द्र कँडेलले घट्ना दुःखद भएपनी अस्पतालको कुनै लापरवाही नभएको दाबी गरे ।
प्रसुती गराउनु अगावै केही स्वास्थ्य परिक्षण गराउनु आवश्यक थियो, ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरुले सोही अनुसार पूर्जा लेखेर दिएको र जाँच गराएर आउछु, भनी निस्केको पासवान दम्पती फर्केर नआएपछी के गर्ने मेसु कडेलको भनाई छ ।
बिहीबार नै अस्पताल प्रशासनले एक प्रेस विज्ञप्ती मार्फत उक्त घट्नामा लापरवाही नभएको तथा सत्यतथ्य बुझ्न आन्तिरक तथा बाहय रुपमा छानवीन समिति गठन भईसकेको जनाएको छ । यस्तै उक्त महिलाको सम्पूर्ण उपचार खर्च अस्पतालले बेहोर्ने विज्ञप्ती मार्फत अस्पताल प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनद्वारा तीन सदस्यीय छानबिन समिति गठन
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा एक महिलाले सडक छेउमै बच्चा जन्माएको विषयलाई लिएर अस्पताल प्रशासन आलोचित बन्दै गएको बेला उक्त घटना सम्बन्धमा जिल्लास्थित एक छानबिन समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा बिहीबार अस्पतालको अनुगमन तथा निरिक्षण पश्चात् तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश कुमार यादवको संयोजकत्वमा राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक कामेश्वर यादव सदस्य तथा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत कमलदेव यादव सदस्य सचिव रहने गरि गठन भएको उक्त समितिले छानबिन गरि प्रतिवेदन पेश गर्ने जनाइएको छ ।
मन्त्रालयद्वारा पाँच सदस्यी समिति गठन
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एक महिलाले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिरै बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली गठन गरेको छ ।
मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख एवं महिला तथा प्रसूति रोग विशेषज्ञ डा. पवनजंग रायमाझी पनि छानबिन टोलीमा छन् ।
मन्त्रालयले घटनाका सम्बन्धमा अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ । घटनाको स्थलगत छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानूनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिँदै आवश्यक अध्ययन तथा छानबिन अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया