दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खडेरीको असर न्यूनीकरणसँगै पानीको संरक्षण, भण्डारण र पुर्नभरण गर्ने उद्देश्यले पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढाइएको छ ।
गाउँपालिका अन्तर्गतका वडा नं. ७ मा दुई, वडा नं. ३ मा दुई तथा वडा नं. ४, ६ र ८ मा एक–एक वटा गरी सातवटा पोखरीमा सरसफाइको काम भइरहेको छ । हाल पोखरीबाट फोहोर तथा झारपात हटाउने, पानीको बहाव तथा भण्डारणमा अवरोध पु¥याउने वस्तु हटाउने लगायतका काम भइरहेको छ ।
पोखरी संरक्षणको कामसँगै स्थानीय जलस्रोतलाई पुनर्जीवित गरी आगामी दिनमा खडेरीको असरबाट समुदायलाई जोगाउने उद्देश्य राखिएको छ ।
पोखरी सरसफाइ तथा संरक्षणको काममा सम्बन्धित वडाका सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु परिचालन भएका छन् । यसबाट स्थानीयस्तरमै रोजगारीको अवसर प्राप्त हुनुका साथै आफ्नै गाउँठाउँमा रहेका जलस्रोत संरक्षणमा समुदायको सहभागिता बढेको जनचेतना अभियान नेपालका परियोजना संयोजक लक्ष्मण खत्रीले बताए ।
द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोग, प्रोसपर ग्लोबलको साझेदारी तथा जनचेतना अभियान नेपालको आयोजनामा सञ्चालित ‘नेपालमा पूर्व कार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत पोखरी संरक्षणको काम भइरहेको खत्रीले जानकारी दिए ।
खडेरीका कारण पानीका स्रोत सुक्दै जाने र कृषि कार्य प्रभावित हुने अवस्थामा पोखरीको संरक्षणले स्थानीय स्तरमा पानी भण्डारणको आधार तयार गर्ने परियोजनाले जनाएको छ ।
वर्षायाममा संकलन भएको पानीलाई पोखरीमा भण्डारण गरी आवश्यकता परेको समयमा कृषि तथा अन्य प्रयोजनमा उपयोग गर्न सकिने भएकाले पोखरी संरक्षणलाई प्राथमिकता दिइएको खत्रीले बताए ।
सरसफाइको काम सम्पन्न भएपछि आवश्यक मर्मत तथा पोखरी आसपास वृक्षारोपण समेत गरिने परियोजनाका प्राविधिक अधिकृत गजेन्द्रप्रसाद अघैयाले जानकारी दिए ।
प्रतिक्रिया
० प्रतिक्रिया