दैनिक समाचारदाता
राजविराज, ७ असोज ।
सप्तरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि निर्वाचन नहुने भएको छ । संघको नयाँ नेतृत्वका लागि असोज १० गते हुने भनिएको निर्वाचन अगावै सबै पदमा निर्विरोध निर्वाचित भएपछी उक्त निर्वाचन नहुने भएको हो ।
अध्यक्ष पदमा निवर्तमान अध्यक्ष लालुप्रसाद अग्रवालको एकल उम्मेदवारी परेपछी उनी निर्विरोध निर्वाचित भएका छन् । उनको यो दोश्रो कार्यकाल हो ।
यता वाणिज्य उपाध्यक्षमा उम्मेदवारी दिएका रामअशिष प्रसाद साह र महासचिव पदमा उम्मेदवारी दिएका भोगेन्द्र मिश्रले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षसहित सबै १४ वटै पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक सतिश दत्तले जानकारी दिएका छन् ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष (उद्योग) मा दुर्गानन्द प्रसाद साह, उपाध्यक्ष (वाणिज्य) मा अमृत कुमार संचेती, महासचिवमा सुरेन्द्र प्रसाद साह, सचिवमा सुरेन्द्र बिमल, कोषाध्यक्षमा प्रमोद काबरा र सहकोषाध्यक्षमा निर्मल कुमार मुन्धडा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दिलिप प्रसाद गुप्ता, सन्तोष कुमार सिन्हा, संजीव कुमार चौधरी, सन्तोष कुमार चौधरी, सुमन राज सिंह र अनिल प्रसाद सिंह तथा महिला सदस्यमा अम्बिका कुमारी दहाल सर्वसम्मत चयन भएका छन् ।
सप्तरी उद्योग बाणिज्य संघको उम्मेदवारी शुल्क यस पटक बृद्धि गरिएको थियो । अध्यक्ष पदका लागि ५१ हजार तथा पदाधिकारीहरुको उम्मेदवारी शुल्क ३५ हजार र सदस्यहरुको उम्मेदवारी शुल्क २१ हजार तोकिएको थियो ।
यो शुल्क उद्योग बाणिज्य संघको निर्वाचनकै इतिहासमै महँगो हो । यसअघिको निर्वाचनमा साधारण शुल्क बुझाएर उम्मेदवार बन्न पाइन्थ्यो ।
प्रतिक्रिया
० प्रतिक्रिया