दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सप्तरीमा २५ वर्षीया एक दलित महिलामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिकाकी ती दलित महिलामाथी सामूहिक बलात्कार भएको घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कडरबोनामा पीडित परिवारजनले किटानी जाहेरी दिएपछी घटना सार्वजनिक भएको हो ।
प्राप्त जानकारी अनुसार गत बुधबार राति करिब साढे ९ बजे स्थानीय मदरसा नजिकैको आँप बगानमा उक्त घटना भएको हो । घटनामा संलग्न तीन जना स्थानीय युवकविरुद्ध पीडित परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएका थिए ।
घटना विवरण अनुसार गाउँमा आयोजित दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि बलान नदी लगिएको थियो । मुर्ति विसर्जनपछि फर्किने क्रममा ट्याक्टरमा डिजेल सकिएर गाडी बाटोमै रोकिको थियो । सो ट्याक्टरमा रहेकी ती महिला एक्लै पैदल घरतर्फ जाँदै थिइन् । सोही क्रममा बाटो छेउमा बसिरहेका तीन जना युवकहरूले नियन्त्रणमा लिई मुख थुनेर नजिकैको आँपको बगानमा पु¥याएर करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
आरोपितहरूले धाकधम्की दिँदै जबरजस्तीकरणी गरेर महिलालाई घटनास्थलमै बेहोस अवस्थामा छाडेर फरार भएका थिए । अबेरसम्म घर नपुगेपछि खोजतलास गर्दै आएका स्थानीयवासी र आफन्तले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए ।
यता, घटना सम्बन्धमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कडरबोनामा किटानी जाहेरी दिएको जनाउँदै घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै पीडितको स्वास्थ्य परीक्षण तथा घटनास्थल मुचुल्काको काम अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
प्रहरी उपरिक्षक रुपक खड्काका अनुसार घटनामा संलग्न संदिग्ध युवकहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । अनुसन्धान प्रभावित हुन नदिन र आरोपीहरू भाग्न नपाऊन् भनेर प्रहरीले थप विवरण गोप्य राखी सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाएको उनले बताए ।
प्रतिक्रिया
० प्रतिक्रिया