दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
दशैं, दिपावली लगत्तै मनाउने साझा पर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वासका साथ यो पर्व चार दिनसम्म मनाउने गरिन्छ ।
यता सप्तरीमा छठ पर्वका लागि धमाधम तयारी भइरहेको छ भने पुजा सामाग्रिहरु किनमेलका लागि अहिले बजारमा चहलपहल बढेको छ ।
छठ पूजाका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराई आवश्यक पर्छ । पूर्णरूपमा शकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ ।
छठ पर्व मनाउन तराई मधेशवासी आवश्यक पुजन सामग्री खरीद गर्न हटिया तथा बजारमा भिड लागेको छ । प्रत्येक वर्ष छठ मनाउनेको संख्या बृद्घि भईरहेकाले आवश्यक सामानको जोहो गर्न बजारमा निकै भिड बढेको हो ।
बर्तालुहरु छठका लागी बासको नाङ्गलो, ढाकि, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरा लगायत फलफुल, उखु, भोगटे, कागती, सखर लगायतका पुजा सामग्री खरिदमा व्यस्त देखिएका छन् ।
बजारमा छठ पुजाका सामग्री किनमनेलका साथै छठ मनाउनेहरु विभिन्न पोखरी, तलाव र जलाशयहरुको सरसफाई र सजाउन पनि व्यस्त भएका छन् । जलाशय सरसफाईमा सेना र प्रहरीले समेत सघाएपछि स्थानियलाई सहज भएको छ ।
प्रहरीले छठ पुजा स्थलमा कुनै पनि उच्छृख्ल गतिविधि र अप्रिय घटना हुन नदिन आवश्यक सवै सुरक्षा व्यवस्था मिलाई सकेको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए । उनले जिल्ला स्थित सवै पुजाघाटमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन सादापोशाका समेत प्रहरी परिचालन हुने तयारी गरिएको जानकारी दिए ।
छठ पर्वलाई व्यवस्थित गर्न स्थानीय युवकहरूले समिति बनाई व्यवस्थापन गर्ने गरेका छन् भने यो पर्व जलाशय, पोखरी वा नदी भएको स्थानमा मनाइन्छ ।
यस्तै राजविराजस्थित विभिन्न पोखरीहरुको यूवाहरुसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेतले सरसफाई गरेको छ ।
राजविराजस्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिदै छ । यता भारदहस्थित कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहासहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुहरुले छठका लागि स्थान ओगटदै छन् । शनिबार साझ अस्ताउँदै गरेको सूर्यलाई तथा आईतबार विहान उदाउँदो सूर्यलाई अर्ध दिएपछि ४ दिवसीय महान पर्व छठ सम्पन्न हुने छ ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।
मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
पर्वको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात नुहाएर खानु भनिन्छ । यो दिन नुहाई, धुवाँई, चोखो भई ब्रतालु महिला एवं पुरुषहरुले लहसुन, प्याज नहाली कालो नुन प्रयोग गरि खाना खाने गर्छन् ।
यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यहरूले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।
पर्वको तेस्रो दिन षष्ठी उपवास बसेका ब्रतालुहरु साँझपख जलाशयमा गई अस्ताउँदो सूर्यको पुजा गर्ने गर्छन् । र चौथो दिन बिहान पुनः जलाशयमा गई उदाउँदो सूर्यको पुजा गरि समाप्त हुन्छ ।
सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व अहिले अन्य जातजातिले पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो ।
आजदेखी साझा पर्व छठ विधिवत रुपमा सुरु
सारांश
- यता सप्तरीमा छठ पर्वका लागि धमाधम तयारी भइरहेको छ भने पुजा सामाग्रिहरु किनमेलका लागि अहिले बजारमा चहलपहल बढेको छ ।
- छठ पूजाका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराई आवश्यक पर्छ ।
- पूर्णरूपमा शकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया