घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, भाद्र २, २०८३
|
|
६ पटक हेरिएको
Shares
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ

सारांश

  • सर्वेक्षणका क्रममा घर–घर पुग्दै गर्दा उनले आफ्नै गाउँ–समाज विपद्को कति ठूलो जोखिममा छ भन्ने कुरा नजिकबाट बुझ्ने अवसर पाए ।
  • आसमान नेपालका लागि घरधुरी सर्वेक्षकको तालिम लिएपछि उनी तिलाठी कोइलाडी गाउँपालिका ६ मा घरधुरी सर्वेक्षकका रुपमा खटिए ।
  • सर्वेक्षणका क्रममा उनले परिवारका सदस्यको विवरणसँगै विपद्सम्बन्धी अवस्था, बालविवाह, सरसफाइ, विधवा अवस्था, जीवन बीमा, आयस्रोत र पेशालगायतका विवरण संकलन गरे ।
विकेएलके
राजविराज, २ भदौ । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का ३४ वर्षीय मोहन प्रसाद साहका लागि घरधुरी सर्वेक्षण एउटा सामान्य काम मात्र थिएन ।
सर्वेक्षणका क्रममा घर–घर पुग्दै गर्दा उनले आफ्नै गाउँ–समाज विपद्को कति ठूलो जोखिममा छ भन्ने कुरा नजिकबाट बुझ्ने अवसर पाए ।
आसमान नेपालका लागि घरधुरी सर्वेक्षकको तालिम लिएपछि उनी तिलाठी कोइलाडी गाउँपालिका ६ मा घरधुरी सर्वेक्षकका रुपमा खटिए । सर्वेक्षणका क्रममा उनले परिवारका सदस्यको विवरणसँगै विपद्सम्बन्धी अवस्था, बालविवाह, सरसफाइ, विधवा अवस्था, जीवन बीमा, आयस्रोत र पेशालगायतका विवरण संकलन गरे ।
घर–घर पुगेर तथ्यांक संकलन गर्ने क्रममा उनले स्थानीय बासिन्दाको जीवनसँग जोडिएका अनेक समस्या र जोखिम देखे । त्यसमध्ये बाढीको जोखिम सबैभन्दा ठूलो रहेको उनले महसुस गरे ।
“म यहाँकै बासिन्दा हुँ । तर, घरधुरी सर्वेक्षणमा खटिएपछि मात्र यहाँ कति जोखिम रहेछ भन्ने थाहा पाएँ,” साहले भने, “घर–घर पुग्दा बाढीले वर्षेनी पु¥याउने दुःख र क्षतिको अवस्था नजिकबाट बुझ्ने मौका पाएँ ।”
सर्वेक्षणले उनलाई विपद्को जोखिम बुझाउने मात्र होइन, जोखिमको समयमा तत्काल काम गर्नुपर्छ भन्ने व्यवहारिक पाठ पनि सिकायो ।
२०८३ वैशाख २६ गते तिलाठी कोइलाडी गाउँपालिका ६ निवासी जुगाई यादवको घरमा अचानक आगलागी भयो । त्यसबेला साह भोज खाइरहेका थिए । एकाएक नजिकै आगलागी भएको खबर आएपछि उनी भोज खान छाडेर आगो नियन्त्रणतर्फ लागे ।
“हामी भोज खाँदै थियौँ । एक्कासि नजिकै आगलागी भएको खबर आयो । त्यसपछि भोज खान छाडेर आगो नियन्त्रणमा लाग्यौँ,” उनले सम्झिए ।
घटना लगत्तै प्रहरी र दमकललाई खबर गरियो । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइयो । समयमै सूचना दिने, सम्बन्धित निकायलाई बोलाउने र स्थानीयस्तरबाट तत्काल उद्धार तथा नियन्त्रणमा जुट्ने कामले ठूलो क्षति हुनबाट जोगाउन सहयोग ग¥यो ।
मर्सीकोप्र्स नेपाल र कोका–कोला फाउन्डेसनको सहयोग तथा तिलाठी कोइलाडी गाउँपालिकाको समन्वयमा आसमान नेपालले सञ्चालन गरेको ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ मा जोडिएपछि साहको विपद् हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।
“तालिम र सर्वेक्षणबाट हामीले विपद्का बेला तत्काल निर्णय गरेर काम गर्नुपर्छ भन्ने सिक्यौँ,” उनले भने, “भोज खानु भन्दा पनि आगो नियन्त्रण गर्नु पहिलो प्राथमिकता हो भन्ने कुरा त्यही बेला व्यवहारमा बुझ्यौं ।”
मोहनका लागि विपद् व्यवस्थापन अब अरुको जिम्मेवारी मात्र होइन । जोखिम पहिचान गर्ने, समयमै सूचना दिने र विपद् आइपर्दा समुदायसँगै अघि सर्ने जिम्मेवारी पनि आफ्नो भएको उनी ठान्छन् । घरधुरी सर्वेक्षणबाट सुरु भएको सिकाइ अहिले समुदायको सुरक्षा र विपद् प्रतिकार्यमा उपयोगी सीपमा परिणत हुँदै गएको मोहन बताउँछन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ