दैनिक समाचारदाता
राजविराज, १९ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सप्तरीको खडक नगरपालिकालाई मधेश प्रदेशको दोस्रो बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेका छन् ।
शुक्रबार खडक नगरपालिका परिसरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री यादवले घोषणा–पत्र वाचन गर्दै खडक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित गर्न मधेश प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले अभिभावकहरूलाई आफ्ना बालबालिकाको हेरचाह र नियमित निगरानी गर्न आग्रह गर्दै लागूऔषध, दुव्र्यसन तथा अन्य कुलतबाट जोगाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे ।
सोही कार्यक्रममा मधेश प्रदेश सभा सदस्य माला कर्णले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहहरूले निरन्तर अनुगमन र निगरानी गर्नुपर्नेमा जोड दिईन ।
खडक नगरपालिका नगरप्रमुख जय प्रकाश चौधरीले बालमैत्री स्थानीय शासनका ५१ वटै सूचक पूरा गरेपछि जिल्लाको दोस्रो बालमैत्री स्थानीय शासनयुक्त पालिकाको रूपमा घोषणा गरिएको जानकारी दिए । उनले बालवालिकाहरूले अब पालिकामा हुनै कुनै पनि गतिबिधि तथा नीति, र निर्णयमा वालवालिकाहरू लाई अनिवार्य राख्ने बताए ।
समारोहमा सेभ द चिल्ड्रेनकी वरिष्ठ कार्यक्रम संयोजक अनिता तमाङले समुन्नति कार्यक्रममार्फत बालबालिकाको सुरक्षा, अधिकार प्रवद्र्धन, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमले बालमैत्री स्थानीय शासनका सूचक पूरा गर्न महत्वपूर्ण योगदान पुगेको बताइन् ।
घोषणा सभामा सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, अग्निसाईर कृष्णासवरण गाउपालिका उपाध्यक्ष कल्पना चौधरी, वडा १० का अध्यक्ष राजेन्द्र चौधरी, मधेश प्रदेश बाल क्लव संजालका अध्यक्ष निरज साहले बालमैत्री स्थानीय शासनका सूचकहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
खडक नगरपालिका कार्यपालिका कल्याणपुरको आयोजनामा तथा सेभ द चिल्ड्रेन, सबल नेपाल, नगर बाल क्लवको समन्वय तथा सहकार्यमा घोषणा सभाको आयोजना गरिएको खडक नगरपालिका बाल कल्याण अधिकारी अनिता कुमारी साहले बताईन ।
प्रतिक्रिया
० प्रतिक्रिया