दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझिया स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । पोषणमैत्री घोषणा हुने बरमझिया स्वास्थ्य चौकी पालिककै पहिलो स्वास्थ्य संस्था हो । नेपाल सरकारको पोषणमैत्री स्थानिय शासनको राष्ट्रिय मापदण्ड अनुसार गरिएका विभिन्न कार्यक्रम र अभियानकाक्रममा सबै १६ वटै सूचकहरु (१००) अंक प्राप्त भएपछि त्यसकै आधारमा उक्त स्वास्थ्य चौकीलाई पालिकाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको नगरप्रमुख ललन प्रसाद गुप्ताले बताए ।
उक्त घोषणापछि निकै उत्साहित देखिएका नगरप्रमुख गुप्ताले नगरभित्रका अन्य स्वास्थ्य चौकीहरुलाई पनि क्रमशः पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने योजनाका साथ अगाडी बढेको बताए ।
पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि गरिएका विभिन्न कार्यक्रम र अभियानबाट प्राप्त उपलब्धिको संयुक्त अनुगमन टोलीबाट प्राप्त सिफारिश समेतका आधारमा यस्तो घोषणा गरिएको उनको कथन छ ।
पोषण अभियान सफल बनाउन महत्वपूर्ण योगदान पु¥याए वापत सहयोगी संस्था केयर नेपाल र जनचेतना अभियान नेपाल लाई कदर स्वरुप विशेष सम्मान गरिएको उनले जानकारी दिए ।
नगरपालिकाको आयोजना तथा केयर नेपाल र जनचेतना अभियान नेपाल सप्तरीद्वार उक्त क्षेत्रमा सञ्चालित पोषण परियोजना अन्तर्गत एक बषें लामो अभियान नै चलाईएको थियो ।
अभियानका क्रममा उक्त क्षेत्रको पोषण लेखाजोखा, जोखिममा रहेका रहेका परिवारलाई आवश्यक ज्ञान संगै पौष्टिक खाद्य सामग्री, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य संस्थामा कडा कुपोषण भएका विरामीको उपचारका लागि आवश्यक उपकरण सहितको ओटिसी कोठा व्यवस्थापन, बालबालिका र महिलाको पोषण स्थिति परिक्षण, सुत्केरी स्याहार, आमाको हेरचाह, सरसफाई, पोषणयुक्त खानपान लगायतका प्रमुख क्रियाकलापहरु गरिएको जनचेतना अभियान नेपालकी कार्यकारी निर्देशक जुही ठाकुरले बताईन ।
यसका अतिरिक्त विभिन्न समुदायका प्रतिनिधि, अभिभावक, महिला, सामाजिक अगुवाहरुलाई राखेर संस्थाका अनुभवी प्रशिक्षक, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र महिला स्वयंसेविका समेत मार्फत पोषणको महत्वबारे आवश्यक सामग्री सहित गतिविधिहरु सञ्चालन गरिए पछि यस्तो सफलता मिलेको उनको भनाई छ ।
समुदायमा आधारित निगरानी र प्रशिक्षित टोलीद्वारा विभिन्न गतिविधि सञ्चालन गरेपछि स्थानिय समाजमा सकारात्मक परिणाम देखिन थालिएको कञ्चनरुप नगरपालिका ३ बरमझियाकी पार्वती चौधरीले सुनाईन् ।
उक्त कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याएको भन्दै स्थानियले अन्य वडामा समेत यस्तो अभियान सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया
० प्रतिक्रिया