दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीका एक शिक्षा प्रेमी तथा समाजसेवीले शिक्षा र स्वास्थय क्षेत्रलाई उकास्न ट्रष्ट निर्माणका लागि एक करोड भन्दा बढी मुल्य बराबरको जग्गा दान गरेका छन् ।
राजविराज नगरपालिका १६ वोरिया निवासी ७२ बर्षीय डा. चिरञ्जीवी लाल देवले ट्रष्ट निर्माणका लागि सोही वडामा पर्ने छिन्नमस्ता सडक खण्डको किनारमै एक करोड १० लाख मुल्य बराबरको डेढ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका हुन् ।
उनले निजी खर्चमै उक्त जग्गामा शिक्षा र स्वास्थ्य सम्बन्धि गतिविधि सञ्चालन गर्न तथा गरिव, असहाय, बेसहारा व्यक्तिका लागि वास स्थल, आश्रम लगायतका संरचना निर्माण कार्य पनि सुरु गरेका छन् । राजविराज ५ स्थित जानकी–अयोधी सेकेण्ड्री स्कूलका संस्थापक रहेका उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको प्रमुखको जिम्मेवारी सम्हाली सकेका छन् । केही समय अघि उनी सेवा निवृत भएका हुन् ।
जग्गा प्रदान संगै स्थानिय प्रशासनमा विधिवत् दर्ता भई निर्माण कार्य समेत सुरु भएको ट्रष्टको स्थानियकै सल्लाह सुझावमा ‘जानकी–अयोधी–मञ्जु–डा चिरञ्जीवी च्यारेटी ट्रष्ट’ नामांकरण गरिएको छ ।
एक बर्ष भित्र उक्त जग्गामा ट्रष्टका लागि आवश्यक भवन निर्माण कार्य सम्पन्न गरी सेवा सुचारु समेत गर्ने उनको लक्ष्य छ । ट्रष्ट अन्तर्गत सामाजिक कार्यका लागि सामुदायिक भवन पनि बनाउने उनको योजना छ ।
प्रारम्भिक चरणमा सहुलियत दरको पोली क्लिनिक, प्राविधिक शिक्षालय खोलिने र त्यसपछि क्रमशः आश्रम र सामुदायिक भवन थपिदै सेवा विस्तार गर्दै लगिने उनको भनाई छ । उनले आफू बाँचुञ्जेल समाजमा अन्य परोपकारी कार्यका लागि सहयोग गरिरहने उद्घोष पनि गरेका छन् ।
प्रतिक्रिया
० प्रतिक्रिया