दैनिक समाचारदाता
राजविराज, २ असोज ।
समस्यै समस्याले जकडिएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सुधारका लागी ९ बुँदे अस्पताल सुधार कार्यक्रम लागु गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रणजीत झाले विहविार देखी ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु गरेको जानकारी दिएका छन् ।
विहीवारदेखी लागु हुने गरी सार्वजनिक गरिएको अस्पताल सेवासुधार कार्यक्रममा आमा सुरक्षा कार्यक्रमको प्याकेज अन्तर्गत परेका सबै सेवासुविधा निःशुल्क उपलब्ध गराईने उल्लेख छ ।
यस्तै स्त्री तथा प्रसुति विभागमा अब २४ सै घण्टा महिला विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराईने, इर्मजेन्सी विभागमा ५ जना मेडिकल अधिकृत सहित आवश्यक जनशक्ती परिचालन गर्ने, ड्युटीमा समयमा कुनै पनि स्वास्थ्यकर्मी बाहिर जान नमिल्ने, विरामी र उनका आफन्तबाट आउने विभिन्न जिज्ञासा, गुनासा र सुझाव संकलनका लागी डेस्कको व्यवस्थापन गर्ने लगायतका विषयमा पनि अस्पताल सेवा सुधार कार्यक्रममा समेटिएको छ ।
सेवालाई जनमैत्री, पँहुचयोग्य र प्रभावकारी बनाउन जनस्वास्थ्य सेवा ऐन २०७५ र अस्पताल सुधार कार्यबीधी २०८२ अनुसार अस्पतालको जनशक्ती र पूर्वाधारलाई ध्यानमा राख्दै आवश्यक रणनिती सहित उक्त कार्यक्रम लागु गरिएको मेसु झाको भनाइ छ ।
विरामी र उनका आफन्तबाट बेला बेलामा विभिन्न खाले गुनासाहरु आउने तथा अस्पतालमा तनावपूर्ण अवस्था सृजना हुने भएकाले यस्तो कार्यक्रम ल्याइएको र यसलाई प्रभावकारी ढंगले लागु गर्न आवश्यक निगरानी र छड्के अनुगमन समेत गरिने मेसु डा. झाले बताए ।
वि.स.२०१३ सालमा पृथ्वी वीर उपचारकेन्द्रलाई सप्तरीको हनुमाननगरबाट राजविराज सप्तरी सारिएको थियो । २०२९ सालमा सगरमाथा अञ्चल अस्पताल नामाकरण भई ५० शैयाको अस्पतालका रुपमा स्तरोन्नती भएको थियो । २०६९ सालमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका रुपमा परिणत गरीएको थियो । तर अहिले पनि ५० शैया कै रुपमा रहेको यस अस्पतालबाट हाल १ सय ५० शैयाको सेवा उपलब्ध गराउनु परिरहदा पनि समस्या देखिएको मेसु डा.झाको भनाई छ ।
डा.झा दोश्रो पटक यस अस्पतालको मेडिकल सुपरिटेन्डेण्टको जिम्मेवारी पाएका हुन । यस अघि कोरोनाकालमा निमित्त मेसुको जिम्मेवारीमा रही उनले कोरोना पीडितको उचित व्यवस्थापन र उपचारमा उत्कृष्ट सेवा प्रदान गरेका थिए ।
प्रतिक्रिया
० प्रतिक्रिया