दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरी जिल्ला वार एकाई कार्य समितिले मंसिर ११ गते विशेष साधारण सभाको वैठक बोलाउनका लागि दिएको निवेदनको औचित्य नरहेको स्पष्ट पारेको छ ।
बारका अध्यक्ष कामेश्वर यादवद्वारा शुक्रबार जारि विज्ञप्तिमा २०८३ कात्तिक ९ गते भएको निर्णयानुसार साधारण सभाको सूचना प्रकाशित गर्ने र यस वारका केही कानून व्यवसायीहरु हुलाक मार्फत विशेष साधारण सभाको वैठक बोलाउनको लागि दिएको निवेदनको औचित्य नरहेको स्पष्ट पारिएको उल्लेख गरिएको छ ।
जारि विज्ञप्तिमा कात्तिक १३ गते विशेष साधारण सभा बारे वारको सूचना पाटीमा सूचना टाँस गरिएको उल्लेख गर्दै सोही दिन दिउँसो अन्दाजी ३ बजेको समयमा वारका सदस्य नरहेका अधिवक्ता रामप्रसाद चौधरी, उपेन्द्र प्रसाद यादव र शिवनाथ साह तथा अन्य केही कानून व्यवसायीहरुले वारका उपाध्यक्ष मिस्टर चौधरी, सचिव राम एकवाल मण्डल तथा सदस्य धिरेन्द्र लाल तिनै जनालाई वारको कोठामा जवरजस्ती बसाई मिति २०८३ मंसिर ११ गते विशेष साधारण सभा हुने भनी सूचना पुस्तिकामा सूचना लेख्न लगाईएको जनाइएको छ ।
“दवावपूर्वक सही समेत गर्न लगाई दवावपूर्वक सूचना प्रवाह गराएका भनी सो सन्दर्भमा निज उपाध्यक्ष, सचिव तथा सदस्यले निवेदन दिई जानकारी गराएकाले सो विशेष साधारण सभाको सूचनाको कुनै औचित्य नरहेको भनी यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।” विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया