दैनिक समाचारदाता
राजविराज, २० असोज ।
सप्तरीको राजगढ गाउँपालिकाको समग्र विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा नागरिक सेवामा सुधारका लागि १६ बुँदे माग तथा सुझावसहित ज्ञापनपत्र बुझाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल राजगढ गाउँपालिका अध्यक्ष ललितप्रसाद सिंहको नेतृत्वमा गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डललार्ई मंगलबार उक्त माग तथा सुझावसहित ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा गाउँपालिका तथा वडा कार्यालय नियमित सञ्चालन गर्नुपर्ने, सामुदायिक विद्यालयमा आवश्यकताअनुसार प्रधानाध्यापक तथा शिक्षक व्यवस्थापन गर्नुपर्ने तथा छात्रवृत्ति, प्रयोगशाला, खानेपानी र शैक्षिक सामग्रीको पर्याप्त व्यवस्था गर्नुपर्ने तथा स्थानीय नागरिकका आधारभूत आवश्यकता तथा सार्वजनिक सरोकारका विषयमा तत्काल पहल गर्न माग समेत गरिएको छ ।
त्यस्तै, सार्वजनिक पोखरी तथा खेतीयोग्य जग्गाको उचित व्यवस्थापन, वास्तविक किसानलाई लक्षित गरी कृषि अनुदान वितरण, गुणस्तरीय बीउबिजन उपलब्धता, सिँचाइ तथा कृषि विद्युतीकरणमा सहुलियत र पशु स्वास्थ्य सेवा विस्तार, घुम्ती पशु स्वास्थ्य कार्यक्रम सञ्चालन, स्वास्थ्य सेवातर्फ २४ सै घण्टा एम्बुलेन्स तथा शववाहन सेवा उपलब्ध गर्न पनि ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
ज्ञापनपत्रमा गाउँपालिकाबाट प्रदान गरिने सेवा तथा विकास निर्माणका कार्यक्रममा निष्पक्ष र समान व्यवहार सुनिश्चित गर्न, वर्षायाममा हुने डुबान तथा सडक अवरोधको दीर्घकालीन समाधान खोज्न र युवालाई लक्षित सीपमूलक तथा रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालनका लागि आग्रह गर्दै न्यायिक समितिमा विचाराधीन विवादलाई कानुनबमोजिम निष्पक्ष र समयमै टुंगो लगाउन तथा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका नागरिकका लागि घरदैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरणको व्यवस्था गर्न पनि माग गरिएको छ ।
यसैगरी, ‘स्वच्छ राजगढ, स्वस्थ राजगढ’ अभियान सञ्चालन, प्रभावकारी फोहोरमैला व्यवस्थापन, योजना तथा बजेटमा पारदर्शिता कायम, भ्रष्टाचार तथा अनियमितता नियन्त्रण, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित कार्यक्रम सञ्चालन र वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिन ज्ञापनपत्रमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ गरिएको उक्त ज्ञापनपत्रमा निर्धारित समयभित्र माग सम्बोधन नभए थप कार्यक्रम तथा संघर्षका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया