दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
वडा दशैंको नवमीका दिन राँगा बली प्रदान गरिने परम्परा रहेको सप्तरीको कंकालिनि मन्दिरमा यस वर्ष ६ सय १४ बलि प्रदान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा ७५ वटा कम रहेको छ । गत वर्ष ६ सय ८९ वटा राँगा बलि प्रदान गरिएको थियो ।
यो सँगै हिन्दुहरुको महान चाड वडै दशैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि प्रदान गरिएको छ । तर, यस पटक भने राँगको बलि प्रदान गर्ने संख्या घटेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका १ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा दशैंको रौनक नै राँगा बलि प्रदान हो ।
यसरी हेर्दा विगत तीन वर्षदेखी यस मन्दिरमा राँगको बलि प्रदान गर्ने संख्या घट्दै गएको छ । गत वर्ष २०८२ मा ६ सय ८९ तथा २०८१ मा ६ सय २८ राँग बलि प्रदान गरिएको मन्दिर समितिको तथ्याङ्कले देखाएको छ ।
विगत दश वर्षको तथ्याङ्क अनुसार राँगा बलि घट्दो छ । २०७४ मा ४ सय ९८, २०७५ मा ६ सय ३२, २०७६ मा ६ सय ४, २०७७ मा ३ सय ८५, २०७८ मा ७ सय ४४, २०७९ मा ६ सय ६९, २०८० मा ६ सय ३, २०८१ मा ६ सय २८, २०८२ मा ६ सय ८९ राँगा बलि प्रदान भएको मन्दिर समितिका अध्यक्ष श्यामसुृन्दर मण्डलले जानकारी दिए ।
निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन संकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ दशैको ‘महानवमी’ को दिन राँगा बली प्रदान गर्ने गर्छन् । यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गर्छन् ।यो मन्दिरको प्रमुख विशेषता पनि राँगा बलि प्रदान नै हो । विजया दशमीको ‘महानवमी’को दिन यहाँ राँगा बलि प्रदान वर्षौदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बलि दिइएको थियो ।
यस मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आईसकेको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।
यस्तै सप्तरीको अर्को शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा घटस्थापनादेखि महानवमी सम्म २५ हजार खसि वोकाको वलि प्रदान गरिएको पिठाधिस महाकान्त ठाकुरले वताए । जिल्लाको छिन्नमस्ता गाउँपालिका स्थित यस मन्दिरमा यस वर्ष लाखौं श्रद्धालु आएको उनले जानकारी दिए ।
प्रतिक्रिया
० प्रतिक्रिया