दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
नेपाली काँग्रेसका महामन्त्री डा. डिला संग्रौलाले वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त रहेको आरोप लगाएकी छिन् ।
नेपाली काँग्रेस सप्तरी क्षेत्र नं. २ क्षेत्रिय समिति, प्रदेशसभा समिति र नगर समितिद्वारा आईतबार संयुक्त रुपमा आयोजित दशैं तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा नेपाली काँग्रेसको १५औं महाधिवेशनमा जिल्लाबाट निर्वाचित केन्द्रिय सदस्यहरुको सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै महामन्त्री संग्रोलाले यस्तो आरोप लगाएकी हुन् ।
“वर्तमान सरकार जनसरोकारका सबाल र समस्या भन्दा पनि सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त रहेका छन्, उनले भनिन्–यस्तो पाराले देश बन्दैन् झन संकट तिर धकेलिन्छ ।”
उनले मधेशका जनताले बर्षेनी भोग्ने गरेको बाढी, नदी कटान, मलखाभकस्द, विउ विजन र सिंचाइको अभाव लगायतका समस्या अहिले पनि यथाबतै रहेको बताईन् ।
काँग्रेसको आधार क्षेत्र मधेशको समस्यालाई काँग्रेसले आफ्नै समस्या बुझेको दावी गर्दे उनले अन्नको भण्डार र संघीयताका जननी मधेशको समस्याको दिर्घकालिन र स्थायी समाधान खोज्नुपर्नेमा जोड दिईन् । देशको समृद्धिका लागी मधेश समृद्ध बनाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि मधेशमा कृषि क्रान्ति गर्नुपर्ने आवश्वयकता औल्याईन् ।
क्षेत्रिय सभापति शम्भुलाल देवको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्वाचित केन्द्रिय सदस्य दिनेश कुमार यादव, जितेन्द्र नारायण देव, गीता यादव, इरसाद अन्सारी, ई. शैलेश मिश्र, ई अशोक साह, जिल्ला सभापति रामदेव साह, पुर्व मन्त्री तेजुलाल चौधरी, कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता, सुरुङ्गा नगरपालिकाका नगरप्रमुख गीता चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मंडलले लगायतले पनि शुभकाना दिदै संगठनलाई बलियो बनाउन एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया
० प्रतिक्रिया