दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सचिव मो. युसुफ अलिले प्रदेश समितिको सचिव पदसहित पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन् ।
उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमको संस्थापक सप्तरी अध्यक्ष समेत रहेका अलिले पार्टीभित्र व्यक्तिवादी सोच हाबी भएको, लोकतान्त्रिक चरित्र कमजोर बनेको र नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिन नसकिएको आरोप लगाउँदै राजीनामा दिएका हुन् ।
पार्टी प्रदेश समितिका अध्यक्षलाई सम्बोधन गरी बुझाएको राजीनामा पत्रमा उनले मधेश जनविद्रोहको भावना, सहिदहरूको बलिदान तथा मधेशी जनताको लामो संघर्षबाट स्थापित संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, पहिचान र सम्मानका मुद्दा ओझेलमा परेको उल्लेख गरेका छन् ।
उनले आफ्नो राजनीतिक यात्रा कुनै व्यक्ति, पद वा निजी स्वार्थका लागि नभई मधेशका उत्पीडित, उपेक्षित र अपहेलित समुदायको अधिकार, पहिचान तथा सम्मान सुनिश्चित गर्न सुरु गरेको बताएका छन् ।
अलिले पार्टीभित्र सीमित नेतृत्वको राजनीतिक स्वार्थ, व्यक्तिवादी सोच र पुँजीपति वर्गको प्रभावका कारण लोकतान्त्रिक अभ्यास कमजोर बनेको आरोप लगाउँदै सयौँ सहिद तथा लाखौँ जनताको त्याग, बलिदान र संघर्षबाट स्थापित मुद्दालाई प्राथमिकता दिनुको सट्टा नेताको राजनीतिक अस्तित्व जोगाउने काममा पार्टी केन्द्रित भएको उनले कटाक्ष गरेका छन् ।
राजीनामा पत्रमा अलिले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको राजनीतिमा खेलेको ऐतिहासिक भूमिकाको मूल्यांकन इतिहासले गर्ने उल्लेख गर्दै विगतको योगदानका आधारमा वर्तमानका सबै निर्णयलाई प्रश्नभन्दा माथि राख्न नसकिने बताएका छन् ।
“कुनै पनि आन्दोलनको सफलता एउटै नेताको स्वामित्वमा सीमित हुँदैन । आन्दोलनले कति सक्षम नेतृत्व जन्मायो, कति बलियो संस्था निर्माण ग¥यो र आफ्ना विचारलाई कति दिगो बनाउन सक्यो भन्ने आधारमा त्यसको मूल्यांकन हुनुपर्छ ।” उनले भनेका छन् ।
मधेशको राजनीति कुनै एक व्यक्तिको राजनीतिक जीवनको निरन्तरताभन्दा ठूलो रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने, असहमतिलाई सम्मान गर्नुपर्ने र पार्टीभित्रको शक्ति जनताको विश्वास तथा लोकतान्त्रिक प्रतिस्पर्धाबाट निर्धारित हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टीले पुस्तान्तरण र वैचारिक रूपान्तरणको बाटो अवलम्बन गर्न नसकेको निष्कर्षसहित आफूले पदमा रहिरहनुभन्दा राजनीतिक विवेकअनुसार अलग बाटो रोजेको उनले बताएका छन् । मधेसको अधिकारलाई केन्द्रमा राखी राजनीति यात्राको नयाँ सुरुवात गर्ने समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया
० प्रतिक्रिया