दैनिक समाचारदाता
राजविराज, २२ असार ।
लालपूर्जा माग्दै विगत ५१ दिन देखी जारी राजविराज नगरवासीको आन्दोलन साउन ३१ गतेसम्मका लागि स्थगित भएको छ ।
नगरवासीद्वारा गठित जनआन्दोलन परिचालन समितीले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी आन्दोलन स्थगित गरिएको जनाएको छ ।
समितीका संयोजक खेलानन्द दासका अनुसार सरकारबाट व्यक्त गरिएको प्रतिबद्धतालाई मध्यनजर गर्दै साउन ३१ गतेसम्मका लागि आन्दोलन स्थगित गरिएको हो ।
समितीका संयोजक दासले आफुहरुको जायज माग सम्बोधन गर्न सरकार गम्भीर भएको, छिट्टै आवश्यक प्रकृया पुरा गरी लालपूर्जा प्रदान गर्ने प्रतिबद्धता जनाएको तथा आन्दोलन रोक्न अनुरोध गरेकाले आजकै मितिदेखी ४० दिन अर्थात साउन ३१ गतेसम्मका लागि आन्दोलन स्थगित गरिएको जनाएका छन । उनले अब केही दिन पर्खिने तथा प्रतिबद्धतानुसार माग पुरा नभए आन्दोलनलाई अझ सशक्त ढंगले पुनःअघि बढाउने उद्घोष गरे ।
उनले मन्त्री प्रतिभा रावल तथा सत्ताधारी दलका राष्ट्रिय नेताहरुसंग राजविराजवासीको लालपूर्जाका विषयमा ३÷४ पटक काठमाडांैमा छलफल भइसकेको तथा माग पुरा गर्न सबै सकारात्मक देखिएकाले केही समयका लागी आन्दोलन स्थगित गर्ने निर्णय गरिएको स्पष्ट पारेका छन ।
उनकै हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा निरन्तरको आन्दोलनले सरकार माथी दबाव पुगेको र माग सम्बोधन गर्न गम्भिरता देखाएको उल्लेख छ ।
आन्दोलन सुरु गरेको केही दिन मै सरकारले समस्या समाधानका लागी मन्त्रालयबाट ५ सदस्यीय टोली गठन गरेको, टोली राजविराज पुगी स्थलगत अध्ययन र सरोकारवालासंग राय, सुझाव र प्रमाणहरु संकलन गरेको, सोको प्रतिवेदन मन्त्रालयलाई बुझाई सकेको र सरकारले सो अध्ययन पश्चात् प्रक्रिया पुरा गरी छिट्टै लालपूर्जा प्रदान गरिने भनी वार्ताका क्रममा प्रतिबद्धता समेत जाहेर गरिसकेकाले विश्वासमा परी तत्काल आन्दोलन स्थगन गर्ने निर्णयमा पुगेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तै आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना तथा दोषि प्रहरीमाथी कारवाहीको माग समेत विज्ञप्तिमार्फत गरिएको छ ।
बजार स्थापनाकाल देखी नै तोकिएको शुल्क तिरेर जग्गा खरीद गरि उक्त जग्गामा आफ्नै लगानीमा भवन तथा संरचना निर्माण गरी वसोवास तथा व्यापार व्यवसायी समेत संचालन गरेर नगरको विकासमा योगदान पु¥याउदै आएका ५ हजार २ सय भन्दा बढी परिवारले हाल सम्म लालपूर्जा (जग्गाधनी प्रमाण पुर्जा) पाउन सकेका छैनन ।
वि.स. १९९८ सालमा राजविराजमा बजार स्थापनाको क्रम सूरु भएको थियो । सोही समयदेखी वसोवास गर्दै आएकाहरु विगत ८५ वर्षदेखी लालपूर्जा माग्दै संघर्षरत छन । तर अझै लालपूर्जा पाउन सकेका छैनन् । पछिल्लो पटक नगरवासीले संघर्ष समिती नै गठन गरी २०८३ साल जेठ १ गते देखी निरन्तर आन्दोलन गरिरहेका थिए । राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी, बजार बन्द, अर्धनग्न जुलुश, मशाल जुलुश, लाठी जुलुश, थाली जुलुश, रिले अनशन, धर्ना लगायतका कार्यक्रम सम्पन्न गरिसेकेका समितिले विज्ञप्ती मार्फत सरकारी प्रतिबद्धता अबको केही दिन भित्रै पुरा नभए आन्दोलनको आँधीबेरी सिर्जना गर्ने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया