दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका शाखा अधिकृतको संयोजकत्वमा गठित ‘ज्वाइन्ट अपरेसन सेल’ ले उत्तेजक भिडियो, अडियो तथा सूचना फैलाउने तथा विरोध प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न १० जना व्यक्तिहरुको पहिचान गरि आवश्यक सोधपुछ पश्चात् सम्झाई बुझाई गरि छाडिएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको झडपको विषयलाई लिएर सामाजिक सञ्जालमा उत्तेजक, भ्रामक तथा अनर्गल सामग्री सम्प्रेषण गर्ने १० जना व्यक्तिहरूको पहिचान गरि आवश्यक सोधपुछ पश्चात् सम्झाई बुझाई गरि छाडिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता हेमराज घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार प्रशासन कार्यालयका शाखा अधिकृत सन्तोष रायको संयोजकत्वमा साउन १० गते गठित उक्त सेलले पहिचान भएका १० जनामध्ये ७ जनालाई सामाजिक सञ्जालमा पोस्ट गरेका भ्रामक सामग्रीहरू हटाउन लगाइएको छ भने तीन जनालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ तथा छानबिन गरिएको थियो ।
नियन्त्रणमा लिइएका मध्ये तिरहुत गाउँपालिका ४ डिमन टोलका २३ वर्षीय जफिर मियाँ र रुपनी गाउँपालिका १ का ३९ वर्षीय मुकेश यादवलाई आवश्यक सोधपुछ र सम्झाई–बुझाई गरी छाडिएको उनको भनाई छ ।
छिन्नमस्ता गाउँपालिका ३ का आनन्द चौधरी, हनुमाननगर कंकालिनी नगरपालिका १४ का राम कुमार महतो, राजविराज ६ का विशाल चौधरी, राजदेवी ड्राइभिङ सेन्टरका सञ्चालक आशिष यादव, सुरुङ्गा नगरपालिका १० का दिपेश कुमार यादव रहेका छन् ।
त्यस्तै सुनसरी हरिनगर गाउँपालिका ६ का असिम अन्सारी हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा र राजविराज ७ का सिनु साह टर्कीमा रहेको समेत पहिचान भएको छ ।
यस्तै साउन १७ गते नियन्त्रणमा लिइएको राजविराज नगरपालिका ६ बस्ने २० वर्षीय छोटु कुमार मेस्तरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको प्रशासनले जनाएको छ ।
प्रशासनले सामाजिक सञ्जालको दुरुपयोग गरी साम्प्रदायिक सद्भाव भड्काउने, भ्रामक हल्ला फैलाउने र उच्छृङ्खल गतिविधि गर्ने जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने प्रहरी प्रवक्ता घिमिेरेको भनाई छ ।
प्रतिक्रिया
० प्रतिक्रिया