विकेएलके
राजविराज, ३१ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुल्लास्थित साह–पण्डित टोलकी ४० वर्षीया रेखा कुमारी साहका लागि विपद् व्यवस्थापनको तालिम केवल जानकारी हासिल गर्ने अवसर मात्र रहेन, संकटका बेला आफैं अघि सरेर उद्धार र प्राथमिक उपचार गर्न सक्ने आत्मविश्वासको आधार पनि बन्यो ।
घरका पुरुषहरु कामको सिलसिलामा बाहिर रहने अवस्थामा विपद्को पहिलो सामना महिलाले नै गर्नुपर्ने भएकाले महिलालाई पुरुषभन्दा बढी जागरुक र सक्षम बनाउन तालिम महत्वपूर्ण बनेको उनको अनुभव छ ।
मर्सीकोप्र्स नेपाल र कोका–कोला फाउन्डेसनको सहयोग तथा तिलाठी कोइलाडी गाउँपालिकाको समन्वयमा आसमान नेपालले सञ्चालन गरेको ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत साहले सामूहिक प्रतिकार्य टोली (सिआरटी) को तालिम लिएकी हुन् । तालिमका क्रममा उनले प्राथमिक उपचार, खोज तथा उद्धार तथा विपद्पूर्व सूचना सम्बन्धी व्यवहारिक र विस्तृत जानकारी पाइन् ।
यसअघि पनि गाउँघरका महिलालाई प्राथमिक उपचारका केही सामान्य उपायबारे जानकारी हुने गरेको भए पनि तालिमपछि त्यसलाई व्यवस्थित र व्यवहारिक रुपमा प्रयोग गर्ने क्षमता बढेको रेखा बताउँछिन् ।
विपद्का बेला के गर्ने, कसरी घाइतेको प्राथमिक उपचार गर्ने, जोखिममा परेकालाई कसरी उद्धार गर्ने तथा विपद् पूर्व प्राप्त सूचनालाई कसरी उपयोग गर्ने भन्ने विषयमा तालिमले आफूहरुलाई थप सक्षम बनाएको उनको भनाइ छ ।
“पुरुषहरु कामको सिलसिलामा बाहिर रहने हुँदा विपद्का बेला आउन सक्ने जोखिमसँग जुध्न महिलाहरुलाई तालिमले जागरुक बनाएको छ,” रेखा भन्छिन्, “विपद्का बेला अब महिलाहरु आफैं खटिएर प्राथमिक उपचारदेखि उद्धारसम्म गर्न सक्षम भएका छन् ।”
उनका अनुसार गाउँघरमा विपद् आउँदा सबैभन्दा पहिले प्रभावित हुने र घटनास्थलमा उपस्थित हुनेमध्ये महिला पनि प्रमुख हुन्छन् । घरमा बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य सदस्यको हेरचाहको जिम्मेवारी प्रायः महिलाकै काँधमा हुने भएकाले विपद् व्यवस्थापनको सीप उनीहरूका लागि झन् आवश्यक छ ।
तालिमपछि महिलामा विपद्को सामना गर्ने आत्मविश्वास बढेको रेखाको अनुभव छ । पहिले विपद्को घटना हुँदा पुरुषको सहयोगका लागि पर्खनुपर्ने अवस्था रहे पनि अहिले विपद् जोखिमका बेला यहाँका महिलाहरु आफैंले तत्काल प्रतिक्रिया जनाउन सक्ने क्षमता विकास भएको उनी बताउँछिन् ।
रेखाको अनुभवले त्यस समुदायका महिला विपद् व्यवस्थापनमा सहभागिता जनाएर उद्धार, प्राथमिक उपचार र पूर्वतयारीको जिम्मेवारीमा समेत निर्वाह गर्नमा सक्षम भएको देखिएको हो ।
समुदायमा महिलालाई विपद्सँग जुध्ने ज्ञान र सीप दिइएको हुँदा अब विपद्का बेला हुने क्षति न्यूनीकरणसँगै तत्काल उद्धार र उपचारमा समेत महत्वपूर्ण सहयोग पुग्ने साहको विश्वास छ ।
प्रतिक्रिया
० प्रतिक्रिया