दैनिक समाचारदाता
राजविराज, २ भदौ ।
नेपालकै पुरानो टाउन प्लानिङ्ग नगर राजविराजलाई अतिक्रमण मुक्त, सुन्दर र व्यवस्थित बनाउन अहिले राजविराज नगरपालिका लागिपरेको छ ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनसहित नगरपालिकाका कर्मचारी र सरसफाईकर्मीको टोलीसहित अहिले नगरलाई व्यवस्थित बनाउन लागिपरेका हुन् ।
नगरको राममन्दिर–अदालत रोड सडक खण्डको सडकपेटी अतिक्रमण गरि बसेका फुटफाथे पसल हटाएको टोलीले हटिया कम्पलेक्स वरिपरी अतिक्रमण गरी बसाईएका फुटपाथे पसलहरु समेत हटाएका छन् ।
पटक–पटक सूचना र त्यसपछि मौखिक आग्रह गरी सडक तथा हटिया कम्पलेक्स आसपासका सार्वजनिक जग्गा मिचेर बसेका फुटफाथे पसलहरुलाई खाली गर्न आग्रह गर्दा पनि बेवास्ता गरेकाले नगरपालिकाले ती संरचनाहरु हटाउन थालेको कार्यवाहक नगरप्रमुख परवीनको भनाई छ ।
सार्वजनिक जग्गा मिच्ने सबैलाई क्रमशः ३५ दिने, १५ दिने र ७ दिने सूचना प्रकाशित गरी पटक–पटक समय दिदा पनि कतिपय व्यक्तिले अझै अटेर गरिरहेको पाइएपछि ती संरचना हटाउन सुरक्षाकर्मीको टोली सहित निस्किनु परेको उनको कथन छ ।
नगरपालिकाले हालसम्म सिरहा रोड, कञ्चनपुर रोड, कुनौली रोड, मच्छहट्टा रोड तथा मुख्य बजार क्षेत्रको मेनरोडको अतिक्रमित तथा सडक मापदण्ड भित्र परेका जग्गाहरुमा बनाइएको घर, टहरा र पसल डोजर लगाएर भत्काइ सकेको छ ।
यसैबीच मंगलबार साँझ अदालत रोडको छेउमा लगाइएको विभिन्न तरकारी बजार समेत हटाइएको छ । कावा नगरप्रमुख परविन तथा वडा नं. ७ का अध्यक्ष सुभाषचन्द्र यादवको नेतृत्वमा सडक छेउका तरकारी बजार हटाइएको हो ।
प्रतिक्रिया
० प्रतिक्रिया