डा.अशोक महासेठ
चुनावपछि मधेश
चुनावपछि मधेशको राजनीति आशामा बसिरहेको छ । अहिलेका दुई तिहाईको सरकारले देशको हितका लागि समस्या समाधान गर्छ भन्ने आशामा बसेको छठ । तर, यति समय बितिसक्दा यो सरकारले कुनै क्रियाकलाप नदेखाउँदा प्रष्टिएको छ कि सत्ता सञ्चालकहरूको नियत ठिक छैन । त्यसैले अहिले अन्योलपूर्ण अवस्थामा परिणत हुँदै गइरहेको छ ।
मधेशकेन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको क्रियाकलाप अहिले फरक–फरक देखिएको छ । खासगरी, राजपाको भनाइ र अडान जुन प्रकारकोे छ कि छठपछि आन्दोलनमा जाने त्यो राम्रो कदम छ । किनभने पर्खिँदा–पर्खिँदा धेरै समय बितिसक्यो । मधेशमा राजपा मात्र एउटा राजनीतिक पार्टी छैन, त्यहाँ फोरमको पनि उपस्थिति र संगठन त्यतिकै बलियो छ । फोरमको भनाइ के छ भने प्राविधिकरूपमा सरकारको दुई तिहाई पुगेको संशोधनका लागि सहज हुन्छ भनेर सरकारमा गएको हो । फोरम सरकारमा गएको नराम्रो होइन । तर, संशोधनका लागि सरकारलाई जति घच्घचाउनुपर्ने हो, कुरा उठाउनुपर्ने हो त्यो देखिएको छैन । त्यसकारणले शंका उत्पन्न भइरहेको छ कि फोरम सत्ताको भोग भोग्नका लागि मात्र गएको हो कि । यदि राजपा संघर्षमा जाने हो भने फोरमको साथ पनि आवश्यक छ । तर, आन्दोलनका लागि फोरम सत्ताबाट बाहिरिन्छ त भन्ने गम्भीर जिज्ञासा छ मधेशमा । दुई किसिमको अवस्था हुनसक्छ । सरकारबाट रहेर पनि आन्दोलनमा जान सकिन्छ । यस्ता थुप्रै उदाहरणहरू छन् हाम्रै नेपालमा । सरकारमा हुँदा पनि आन्दोलनको रूप लिन्छ । सत्ताबाट बाहिरिएर मात्र आन्दोलनमा जान सकिन्छ भन्ने छैन । फोरम अहिले जसरी मन्त्रिपरिषद्मा छ, उसले संशोधनका लागि त्यहाँ पनि आन्दोलन गर्न सक्छ । तर, आफूमाथि विश्वास हुनुप¥यो कि म कहाँसम्म आन्दोलन गर्न सक्छु ।
संशोधनको नाममा एउटा मधेशकेन्द्रित दल सरकारमा गयो भने अर्का आन्दोलनको चेतावनी दिँदैछ । यसले गर्दा मधेशकेन्द्रित दलहरुले संशोधनलाई एजेन्डाभन्दा पनि प्रोपोगण्डा त बनाएको होइन भन्ने एक किसिमको आशंका पनि छ । संविधान संशोधन राजपा र फोरमको राजनीतिक एजेन्डा हो र साथसाथै समग्र देशकै समस्या हो । यो समस्या मधेशको मात्र होइन । बडो दुःखको कुरा छ कि अहिलेसम्म पनि देशहितका लागि वर्तमानमा कुनै पनि पार्टीले काम गरिरहेका छैनन् ।
संशोधन यदि समग्र देशकै आवश्यक्ता हो भने ठूला दलहरू नेकपा र कांग्रेसको प्राथमिकतामा किन नपरेको होला भन्ने एउटा गम्भीर प्रश्न रहेको छ । यी ठूला भनाउँदा दलहरूमा देशहितको सोच नभएकोले संविधान संशोधन यिनीहरूको प्राथमिकतामा नपरेको हो । यसलाई राजनीतिक बेइमानी भन्न मिल्छ । यसरी राष्ट्रिय मुद्दालाई प्राथमिकता नदिनु नेकपा र कांग्रेसलाई क्षेत्रीय दल हो कि भन्ने भान हुन्छ । तर, क्षेत्रीय दल त भन्न मिल्दैन तर यिनीहरूमा औपनिवेशिक मानसिकता अहिले पनि हटिसकेको छैन । उनीहरूको सोच र व्यवहारमा प्रजातान्त्रिक गुण र देशहितका लागि नरहेकोले यिनीहरू क्षेत्रीय दल जस्तै देखिएको हो ।
संविधान संशोधन यदि राष्ट्रिय मुद्दा हो भने यी ठूला दलहरूको प्राथमिकतामा नपर्नु चिन्ताको विषय हो । कांग्रेसको समीक्षा गर्ने हो भने उसले लोकतन्त्रको नाम दिएर मात्रै लोकतान्त्रिक पार्टी भनिरहेको छ । वास्तविकरूपमा अहिलेसम्म उनीहरूले लोकतन्त्रको सिद्धान्त, मर्म वा विचारलाई अँगाल्न सकेका छैनन् । त्यसको प्रतिविम्बको रूपमा देशमा देखा पर्न सकेको छैन । यदि देशमा कुनै पनि समस्या छ भने प्रत्येक पार्टीको त्यो एजेन्डा बन्नुपर्छ । यस्तो नभएकोले उनीहरूमा प्रजातान्त्रिक गुणको अभाव छ । यिनीहरूमा देशप्रतिको इमान्दारिता छैन ।
संशोधनको आवश्यकता र औचित्य
प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी बारम्बार भन्नुहुन्छ कि आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ । प्रधानमन्त्रीलाई यसको आवश्यक्ता र औचित्य कि महसुस नभएको होला त भन्ने जिज्ञासाभन्दा पनि गम्भीर चिन्ताको विषय हो । आवश्यकता र औचित्य एकदमै छ । अहिले मात्र होइन, जुन बेलामा संविधान निर्माण भइरहेको थियो त्यो बेलामा नै थियो । त्यो बेलामा बलमिचाई गरेको देखिएको छ । जबसम्म समस्या रहिरहन्छ तबसम्म राष्ट्रियता बलियो हुँदैन । त्यसैले, समस्या समाधान गर्नु नै अहिलेको आवश्यक्ता र औचित्य हो । यदि गरिरहेको छैन भने यसको अर्थ हो कि उनीहरूको नियत खराब छ ।
संविधान जारी भएको तीन वर्षभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म सर्वस्वीकार्य हुनसकेको छैन । यसरी असन्तुष्टि रहिरहँदा संविधानको भविष्य लामो देखिएको छैन । संविधानप्रति यसरी नै असन्तुष्टि राहिरहँदा यसको लामो भविष्य देखिँदैन । किनभने अहिलेसम्म नेपालमा छ वटा संविधान बनेको छ र यो सातौं संविधानको रूपमा आएको छ । त्यसैलै भन्न सकिँदैन कि यसको अवस्था त्यस्तै नहोला । यो संविधानलाई यदि सफल बनाउने हो भने समस्याहरू समाधान गर्दै जानुपर्छ । अनि मात्रै समृद्ध नेपाल र सुखी नेपालीको नाराको सार्थकता हुन्छ ।
प्रधानमन्त्री केपी ओलीको मधेशमा जुन किसिमको छवि थियो, त्यसमा आंशिकरुपमा परिवर्तन आएको हो कि लागेको थियो । हल्का परिवर्तन आएको जस्तो देखिन्छ । उहाँको जुन बानी छ, त्यो परिवर्तन हुँदैन । त्यो परिवर्तन गर्नका लागि धेरै साधना, चिन्तन, मनन गर्नुपर्छ । आफूलाई सर्वव्यापकरूपमा उभ्याउन सक्नुपर्छ । तर, त्यस्तो सोच र व्यक्तित्व भएको केपी ओलीलाई म देख्दिँन । यदि उहाँमा परिवर्तन आएको भए अहिलेसम्म संशोधनको प्रक्रिया अवश्य अगाडि बढाउनुपर्दथ्यो । त्यसैले अहिले पनि शंका छ । उहाँ आफ्नो कार्यकालमा सायद संशोधन गर्नुहुन्न ।
फोरमको सत्तामोह
संशोधनको नाममा सरकारमा गएको फोरमको भूमिकालाई आम मधेशीले नियालिरहेका छन् । संशोधनका लागि सहमति गरेर फोरम सरकारमा गएको हो । सत्ताका लागि मात्रै फोरम सरकारमा गएको हो भनेर भन्न सकिन्न । देशका समस्याहरू समाधान गर्नका लागि फोरम यदि सरकारमा नगएको भए दुई तिहाईको बहुमत पुग्ने थिएन । जब कि संशोधनका लागि दुई तिहाई आवश्यक हुन्छ । तर, संशोधनका लागि जति काम गर्नुपर्ने थियो, कुरा उठाउनुपर्ने थियो त्यो कुरा फोरमले नगरेकोले फोरममाथि पनि सत्तामोहको शंका उब्जेको महसुस हुन थालेको छ । संशोधनको सर्तमा सरकारलाई समर्थन गरेकै थियो, सरकारमै जानुपर्ने बाध्यता थिएन । तर, राजनीति गर्ने पार्टीको लक्ष्य सरकारमा जाने हुन्छ । सरकारमा जानु नराम्रो कुरा होइन । तर, गएपछि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । त्यो महत्वपूर्ण कुरा हो ।
संशोधन पक्षधर दलहरू राजपा र फोरमबीच सहकार्य वा सम्वाद नहुँदा सरकार गम्भीर नभएको हुनसक्छ । वर्तमानलाई लागेको होला कि मधेशी दलहरूबीच फुट भयो भने सन्चोको अवस्था हुन्छ । त्यो आफैमा ठिक कुरा होइन । दुईटै पार्टी मिल्नु नै मधेश र देशका लागि आवश्यक छ । (कुराकानीमा आधारित) (मधेश दर्पण फिचर सेवा)
ओलीको पालामा संशोधन होला ?
सारांश
- मधेशकेन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको क्रियाकलाप अहिले फरक–फरक देखिएको छ ।
- खासगरी, राजपाको भनाइ र अडान जुन प्रकारकोे छ कि छठपछि आन्दोलनमा जाने त्यो राम्रो कदम छ ।
- किनभने पर्खिँदा–पर्खिँदा धेरै समय बितिसक्यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया