दैनिक समाचारदाता
राजविराज, २३ भदौं ।
चोरी गरि माटो मुनी र खेलौनामा नगद तथा रिचार्ज कार्ड लुकाइ राखेको अवस्थामा सप्तरी प्रहरीले चोरीमा संलग्न दाजु, बहिनी र अन्य दुई जनालाई पक्राउ गरेको छ ।
राजविराज ७ स्थित एक पसलमा सोमबार बिहान चोरी भएको केही घण्टा नबित्दै चोरीमा संलग्न रहेकाहरुलाई सामानसहित पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि सोमबार साँझ पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।
यसरी पक्राउ पर्नेमा राजविराज ४ निवासी सैनी भनिने २८ वर्षिय सनियाँ मण्डल र उनकी २४ वर्षिया बहिनी ज्योति, सोही वडा बस्ने २२ वर्षिय मो. समिम अन्सारी तथा रुपनी गाउँपालिका ४ बस्ने २६ वर्षिय लाल महम्मद राइन् छन् ।

सो पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले पसलमा जडान गरिएको सिसि क्यामराको फुटेजको आधारमा अनुसन्धान गर्दै जाँदा सफलता मिलेको जानकारी दिए ।
घटना विवरण अनुसार राजविराज ७ स्थित हटियामा रहेको गणेश किराना स्टोर्स पसलमा सोमबार बिहान ४ बजेतिर सटर फोडेर नगद ४ लाख, १ लाख ५० हजारको रिचार्ज कार्ड तथा केही किराना सामान चोरेर लगेपछि पसल संचालक ओमप्रकाश साहद्वारा प्रहरी समक्ष उजुरी परेको थियो ।
चोरीमा संलग्न मुख्य नाइके सनिया मण्डल पक्राउ परेपछि उनले दिएको बयानको आधारमा प्रहरीले राजविराज २ मा मदिरा पसल संचालन गर्दै आएकी उनकी बहिनी ज्योति, होटलका कामदार मो. समिम र रुपनी गाउँपालिकाका लाल मोहम्मदलाई पनि नियन्त्रणमा लिइएको थियो ।
लाल मोहम्मदले चोरीमा सघाएका थिए भने ज्योति र समिमले चोरीको रकम र सामान लुकाउन सघाएको प्रहरी उपरिक्षक धमलाको भनाई छ ।
साहको पसलबाट चोरी गरिएका ४ लाख रुँपैया मध्ये ३ लाख ५९ हजार २ सय ९५ रुँपैया ज्योति मदिरा पसल भित्रै माटोमुनी गाडेको र खेलौना भित्र लुकाइराखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
यस्तै चोरी गरिएका १ लाख ५० हजार रुँपैयाको रिचार्ज कार्ड मध्ये ५० हजार ५० रुँपैयाको रिचार्ज कार्ड पनि सोही होटलबाट बरामद गरिएको छ । बाँकी रकम र रिचार्ज कार्ड कहा लुकाएको भन्ने विषयमा सोधपुछ भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया
० प्रतिक्रिया