दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू–१९ महिला क्रिकेट सिरिज’ का लागि नेपाली महिला क्रिक्रेट राष्ट्रिय टोलीमा सप्तरीकी साक्षी यादव पर्न सफल भएकी छिन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको १५ सदस्यीय नेपाली टोलीमा अलराउन्डर साक्षीका साथै मधेश प्रदेशबाट सना परविन र एलिशा यादव पनि सो टोलीमा छनोट भएकी छिन् ।
साक्षीले मधेश प्रदेशमा आयोजना भएका विभिन्न क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् । उनी राष्ट्रिय क्रिकेट खेलाडी विवेक यादवकी बहिनी हुन् ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिखसम्म चीनमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्डका यू–१९ महिला क्रिकेट टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
सोनी पाख्रिनको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा साक्षीसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, अञ्जिला पाठक, सावित्री धामी, मनिषा चौधरी, आसिकाकुमारी महरा, अनु कडायत, मनिषा उपाध्याय, सना परविण, एलिशाकुमारी यादव र तिर्सना विश्वकर्मा छन् ।
प्रतिक्रिया
० प्रतिक्रिया