दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले पशुपालक किसानहरुलाई बुधबार चापकटर मेशिन (कुट्टी काट्ने मेशिन) वितरण गरेको छ ।
वडा नं. ७ मन्सापुर वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष हरिनारायण मण्डल र पशु विकास शाखा प्रमुख बद्री नारायण मण्डलले संयुक्त रुपमा १३ जना किसानलाई सो मेशिन हस्तान्तरण गरे ।
विद्युतीय मोटरको सहायतामा चल्ने मेशिनले कम समयमा धेरै कुट्टी काट्ने भएकोले किसानलाई फाइदा पुग्ने बताउँदै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले पशुपालन क्षेत्रको विकासका लागि पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उक्त मेशिन हस्तान्तरण गरिएको बताए ।
आर्थिक बर्ष २०८२÷०८३ मा किसानहरुबाट माग संकलन गरिएको र २६ जना किसानले मात्र विद्युतीय चापकटर मेशिन माग गरेकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाबाट खरिद गरी हस्तान्तरण गरिएको पशु विकास शाखा प्रमुख बद्रीनारायण मण्डलले जानकारी दिए । बाँकी रहेको १३ वटा मेशिन पनि छिट्टै वितरण गरिने पशु विकास शाखा प्रमुख मण्डलले जनाए ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हरिनारायण मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कृषि विकास शाखा प्रमुख उमेश मण्डल, विपद् शाखा प्रमुख राजेश कुमार झासहितको सहभागिता रहेको थियो ।
प्रतिक्रिया
० प्रतिक्रिया