दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सप्तरीस्थित नेपाल–भारत सीमा क्षेत्रमा पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी नै आक्रमण गरेका छन् ।
जिल्लाको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीस्थित प्रहरी चौकीका इन्चार्ज असई प्रदीपकुमार बिष्टमाथि आक्रमण भएको हो ।
घटना विवरण अनुसार शनिबार साँझ भारतबाट दिपावलीका लागि विस्फोटक पदार्थ (पटका) ल्याउँदै गरेको अवस्थामा बोदेबरसाईन नगरपालिका ३ का रामदुलार यादवलाई प्रहरीले पटाकासहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका यादवलाई छुटाउन पुगेको समूहले प्रहरीमाथि आक्रमण गरेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीले यादवको साथबाट करिब एक लाख १७ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय कडबोनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोप लागेका देवकुमार यादवसहित अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए । यसअघि गत असारमा पनि सोही प्रहरी चौकीमा कार्यरत तत्कालीन इन्चार्ज असई रामकुमार यादवमाथि तस्कर समूहले कुटपिट गरेका थिए ।
प्रतिक्रिया
० प्रतिक्रिया