सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, कार्तिक १४, २०८३
|
|
१४ पटक हेरिएको
Shares
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सारांश

  • गत वर्ष २०८२ साल कात्तिक १९ गते उद्योग बाणिज्य संघ सप्तरीको अगुवाईमा आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै भएको विभिन्न चरणको आन्दोलन पश्चात् भविष्यमा आन्तरिक राजश्व कार्यालय स्थापना हुने गरि आन्तरिक राजश्व विभागसँग भएको सहमति पश्चात् पुनः सो कार्यालय राजविराजमै यथावत राखिएको थियो ।
  • तर सहमति भएको एक वर्ष बितिसक्दा पनि आन्तरिक राजश्व कार्यालय स्थापनाको प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन् ।
  • बरु अधिकार कटौती गरेर यथावतै रहेको करदाता सेवा कार्यालयको प्रशासनिक कार्यलाई समेत ध्वस्त पार्न अहिले कर्मचारी सरुवा गरि अर्को प्रपञ्च रचिएको छ ।
नवीन कुमार गुप्ता
राजविराज, १३ कात्तिक । 
राजविराजस्थित करदाता सेवा कार्यालयलाई पूर्ण रुपले बिस्थापित गराउने उद्देश्यले यस कार्यालयमा कार्यरत कर्मचारीलाई सिरहाको लहानस्थित आन्तरिक राजश्व कार्यालयमा तानिएको छ ।
गत वर्ष २०८२ साल कात्तिक १९ गते उद्योग बाणिज्य संघ सप्तरीको अगुवाईमा आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै भएको विभिन्न चरणको आन्दोलन पश्चात् भविष्यमा आन्तरिक राजश्व कार्यालय स्थापना हुने गरि आन्तरिक राजश्व विभागसँग भएको सहमति पश्चात् पुनः सो कार्यालय राजविराजमै यथावत राखिएको थियो ।
तर सहमति भएको एक वर्ष बितिसक्दा पनि आन्तरिक राजश्व कार्यालय स्थापनाको प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन् । बरु अधिकार कटौती गरेर यथावतै रहेको करदाता सेवा कार्यालयको प्रशासनिक कार्यलाई समेत ध्वस्त पार्न अहिले कर्मचारी सरुवा गरि अर्को प्रपञ्च रचिएको छ ।
यस विषयमा आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख अमित पौडेलले करदाता सेवा कार्यालय राजविराजबाट दुई कर्मचारीको एक वर्ष अघि नै सरुवा भइसकेको जानकारी दिँदै उनीहरु सोही अन्तरगत आन्तरिक राजश्व कार्यालय लहान आएको स्पष्ट पारेका छन् ।
उनले नियमित सरुवा प्रक्रिया अन्तरगत मात्र कर्मचारी सरुवा भएको बताउँदै कात्तिक मसान्तपछी लहानबाट पनि केही कर्मचारी सरुवा हुने र अन्यत्रबाट सरुवा भई लहान आउने कर्मचारी मध्येबाट पुनः राजविराजस्थित करदाता सेवा कार्यालयमा पठाईदिने आश्वासन दिए ।
उनले प्रशासनिक कार्यका लागि कर्मचारी अभाव भएकोले राजविराजबाट दुई जना कर्मचारी लहान तानिएको जानकारी दिँदै हाललाई लहानबाट एक जना कम्प्युटर अपरेटरलाई राजविराज पठाइएको बताए ।
चालु आ.ब. बाट सबै स्थानीय तहमा करदाता सेवा शाखा स्थापना भइसकेको अवस्थामा राजविराजस्थित करदाता सेवा कार्यालयबाट पनि केही कार्य हुने गरेको छ । यद्यपी स्थानीय तहमा रहेका करदाता सेवा शाखाबाट नयाँ पान दर्ता गराउने बाहेक अन्य कुनै काम हुन सकिरहेको छैन् । यहाँस्थित करदाता सेवा कार्यालयबाट पनि उक्त काम गर्ने अधिकारलाई बञ्चित गराइएको छ । करदाताहरुलाई कुनै पान सच्याउनु परेमा लहान नै पुग्नु पर्ने बाध्यता रहेको छ । यसबाहेकका अन्य कार्य गर्न त लहान जानै पर्छ ।
द्वन्दकालको समयमा राजविराजमा रहेको आन्तरिक राजश्व कार्यालय सिरहाको लहान सारिएपछी लामो समयको प्रयास पश्चात् २०७५ सालमा राजविराजमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो ।
बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर २०८२ साल भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
नेपाल सरकारले तोकेकोे लक्ष्य भन्दा बढी राजश्व संकलन गरिरहेको उक्त केन्द्रलाई पछिल्लो पटक २०८२ साल कार्तिक १७ गतेको मन्त्री परिषदको बैठकले सिरहाको लहानस्थित आन्तरिक राजश्व कार्यालयमै गाभ्ने निर्णय गरेको थियो ।
करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि जिल्लामा कम्तिमा ४५ हजार बढी करदाता हुनु पर्ने प्रावधान रहेको छ ।
७८ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि ठूलै राजनीतिक षडयन्त्र रचिदै छ । तर सप्तरीबाट निर्वाचित सांसदहरु यसप्रति थोरै पनि गम्भिर रहेको देखिदैनन् । सप्तरीबाट ६ जना प्रतिनिधिसभा सदस्य र एक जना राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका छन् । जसमध्ये एक जना नेपाल सरकारमा मन्त्रि समेत छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?