५० शैया स्वीकृत गजेन्द्र नारायण सिंह  अस्पतालमा डेढ सय शैयाको सेवा संचालन, सीमित श्रोत, साधन र जनशक्तिको भरमा संचालन हुँदा समस्यै समस्या

राजविराज राजविराज
|
मंगलबार, आश्विन १६, २०८०
|
|
६१ पटक हेरिएको
Shares
५० शैया स्वीकृत गजेन्द्र नारायण सिंह  अस्पतालमा डेढ सय शैयाको सेवा संचालन, सीमित श्रोत, साधन र जनशक्तिको भरमा संचालन हुँदा समस्यै समस्या

सारांश

  •     राष्ट्रिय योजना आयोगका सदस्य डा.
  • जयकान्त राउतको नेतृत्वमा मंगलबार अस्पताल पुगेको टोली समक्ष मेडिकल सुपरिटेन्डेन्ट डा.
  • प्रकाश प्रसाद साहले अस्पताल समस्यै समस्याले जकडिएको फेहरिस्त प्रस्तुत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ असोज । 

    ५० शैयाको स्वीकृती पाएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल हाल डेढ सय शैयाको सेवा संचालन गर्दा समस्यै समस्याले गुज्रिरहेको छ । 
    राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको नेतृत्वमा मंगलबार अस्पताल पुगेको टोली समक्ष मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहले अस्पताल समस्यै समस्याले जकडिएको फेहरिस्त प्रस्तुत गरेका छन् । 
    आयोगका सदस्य राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव कृष्ण थापा, शाखा अधिृकत बैकुन्ठराज रेग्मी, मधेश प्रदेशका सांसद एवं अर्थसमितिका सभापति सतिश कुमार सिंह तथा प्रमुख जिल्ला अधिकारी किरण थापा सम्मिलित टोली समक्ष मेसु डा. साहले समस्याको फेहरिस्त प्रस्तुत गरेका हुन् । 


    टोली समक्ष डा. साहले भने “५० शैयाको स्वीकृती तथा क्षमता भएको अस्पतालमा सीमित श्रोत, साधन र जनशक्तिको भरमा अहिले १ सय ५० शैयाको सेवा संचालन गर्नुपरिरहेका छ, ५० शैयाका लागि पनि चाहिने आवश्यक जनशक्ति र साधनश्रोत नभएका बेला डेढ सय शैयाको सेवा संचालन गर्नु पर्दा बेला बेलामा समस्या र तनाव झेल्नु परिरहेको छ ।”
    उनले टोली समक्ष अस्पतालमा सेवा बिस्तार गर्ने उद्देश्यले तीन सय शैया क्षमता रहने गरि भवन संरचना निर्माण भइरहेकोमा उक्त कार्यपनि सुस्त गतिमा रहेको र हस्तान्तरणमा ढिलाई हुँदा थप समस्या भएको सुनाए । 
    अस्पतालमा दिनँहु तीन सयको हाराहारीमा बिरामीहरु चेकजाँच गर्न आउने गरेको भन्दै मेसु डा. साहले बिरामीको चाप बढ्दै गएकाले अविलम्ब भवन निर्माण कार्य सकाएर अस्पताल प्रशासनलाई हस्तान्तरण गर्न लगाउन पहलका लागि टोली समक्ष आग्रह समेत गरे । 
    उनले अस्पतालमा नाक, कान, घाँटी तथा मानसिक रोग उपचारका चिकित्सकको पदपूर्ती हुन नसक्दा त्यस्ता बिरामीलाई समस्या हुने गरेको लाचारी व्यक्त गरे । उनले बेड अभावमा कतिपय बिरामीलाई भुईमै राखेर भएपनि उपचार सेवा दिन बाध्य भएको सुनाए । 
    अहिलेकै अवस्थामा सहज रुपमा सेवा दिन तीन सय भन्दा बढी जनशक्ति आवश्यक परेकोमा स्थायी, करार र दैनिक ज्यालादारी गरि २ सय जनशक्तिबाट काम चलाउनु परिरहेको उनले टोली समक्ष सुनाए । त्यसमा पनि कतिपय करार र दैनिक ज्यालादारीका कर्मचारीलाई अत्यन्त न्युन तलबमा काम लगाउँदा उनीहरुको मनोबल समेत घटेको मेसु डा. साहको भनाई छ । 
    अस्पतालको समस्या विवरण बुझे पश्चात् स्थलगत निरिक्षण गरेको टोलीले अस्पताल सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको मेसु डा. साहले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?